17 September 2025, Canberra :
स्वास्थ्य विज्ञका अनुसार अहिले करिब ४० जनामा एक जना अटिजम भएको मान्यता छ। यो तथ्याङ्कले अटिजमबारे चेतना बढ्दै गएको र अधिक बच्चाहरू पहिचान हुँदै गएको देखाउँछ। अटिजम कुनै रोग होइन, बरु विकाससँग सम्बन्धित फरकपन हो जसले प्रत्येक व्यक्तिलाई आ–आफ्नै तरिकाले असर गर्छ। कतिपयलाई दैनिक जीवनमा ठूलो सहयोग आवश्यक हुन्छ भने कतिपय स्वतन्त्र रूपमा जीवन बिताउँछन्।
यसैबीच, अष्ट्रेलियाली सरकारले बालबालिकाका लागि नयाँ योजना घोषणा गरेको छ। “थ्राइभिङ किड्स” (Thriving Kids) नामको यो पहलमा करिब २ अर्ब डलर लगानी हुनेछ। यस योजनाअन्तर्गत सामान्यदेखि मध्यम स्तरको अटिजम वा विकासमा ढिलाइ भएका बालबालिकाहरूलाई बिस्तारै NDIS (National Disability Insurance Scheme) बाट हटाएर नयाँ समर्थन प्रणालीतर्फ लैजाने तयारी गरेको छ।
अधिकारिहरूका अनुसार यस कदमको उद्देश्य NDIS लाई त्यसको मूल भूमिकामा फर्काउनु हो । सामान्यतया NDIS ले गम्भीर र स्थायी अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने भन्ने मुख्य उद्देश्य रहेको छ तसर्थ हल्का समर्थन आवश्यक पर्ने बालबालिकालाई विद्यालय, स्वास्थ्य सेवा र समुदायमा आधारित कार्यक्रममार्फत सहायता दिलाउने उद्देश्यले यो नयाँ योजना अघि सारिएको हो।
नयाँ योजनामा आधारित मुख्य बुँदाहरू:
- हाल करिब २.५% अष्ट्रेलियाली अटिजम भएका छन् भन्ने अनुमान छ।
- समाजमा विभिन्न भ्रान्ति हरु हुन्छन् जस्तै: खोपका कारण अटिजम हुन्छ भन्ने वा सबै अटिजम भएका व्यक्तिहरू एउटै किसिमका हुन्छन् भन्ने धारणा; यसलाई विज्ञहरूले खण्डन गर्दै आएका छन्।
- हाल NDIS अन्तर्गत भएका बालबालिकाले तुरुन्तै योजना गुमाउने छैनन्, तर भविष्यमा हल्का समर्थन आवश्यक पर्ने बच्चाहरूलाई नयाँ योजनातर्फ पठाइने योजना छ। तर अभिभावकहरूले विद्यालय तथा स्वास्थ्य प्रणालीसँग आवश्यक जनशक्ति र स्रोतसाधनको बारेमा सही समयमा सही सेवा हुन्छ कि हुँदैन भनेर चिन्ता व्यक्त गरी प्रश्न उठाएका छन्।
- सरकारले यो कार्यक्रमलाई २०२६ मा सुरु गर्ने र २०२७ सम्म पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।
Comments