अटिजम भएका विद्यार्थीले +2 मा B+ ल्याउँदै ऐतिहासिक सफलता: समाजको भ्रम चिर्दै उदाहरणीय बने
काठमाडौं, साउन २२ –
अटिजम भएका विद्यार्थी आदेश राज काफ्लेले कक्षा १२ को परीक्षामा GPA 3.20 (B+) ल्याउँदै असाधारण सफलता हासिल गरेका छन्। यस उपलब्धिले समावेशी शिक्षाको शक्ति र सम्भावनालाई पुनः एकपटक उजागर गर्दै अटिजम भएका बालबालिकाको क्षमता र सम्भावनाप्रति समाजको दृष्टिकोण बदल्न महत्वपूर्ण संकेत दिएको छ।
१५ वर्षदेखि अटिजम बालबालिकाको क्षेत्रमा क्रियाशील ‘विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)’ का संस्थापक तथा सामाजिक अभियन्ता सबिता उप्रेतीका अनुसार, “आदेश बाबुको सफलता सामान्य उपलब्धि मात्र होइन, यो हाम्रो संस्थाको १५ वर्षको निरन्तर प्रयास, सहकार्य र समर्पणको प्रतीक हो।”
आदेशले SSDRC मा सात वर्षसम्म विशेष सेवा र सिकाइ लिँदै कक्षा ६ मा भक्तपुरस्थित रेन्वो बोर्डिङ सेकेन्डरी स्कुलमा भर्ना भएका थिए। समावेशी शिक्षा पद्धतिमा सहजै समाहित भई उनले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै कक्षा १२ मा B+ प्राप्त गरे।
शिक्षाको अलावा, आदेशले अटिजम भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय पहिचान र गौरव बढाउन उल्लेखनीय योगदान दिएका छन्।
- सन् २०१९ मा अबुधाबी, युएई मा आयोजित Special Olympics World Games मा १९५ राष्ट्रको सहभागिताबीच फूटसल (फुटबल) खेलमा सिल्भर मेडल जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएका थिए।
- उनले अष्ट्रेलियामा आयोजित ११५ राष्ट्रको सहभागितासहितको अन्तर्राष्ट्रिय सम्मेलनमा अटिजमबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए। यो सहभागिता अटिजम भएका नेपाली व्यक्तिको तर्फबाट पहिलो थियो।
आदेशका बाबु दीपक काफ्ले र आमा उर्मिला काफ्लेले सधैं धैर्य, माया र समर्पणका साथ बाबुलाई साथ दिएका छन्। “समाजमा अझै पनि अटिजम भएका बालबालिकालाई कमजोर भनेर हेर्ने दृष्टिकोण छ, तर आदेशको सफलताले यो सोचलाई गलत सावित गरिदिएको छ,” दीपक काफ्लेले बताउनुभयो।
SSDRC का अनुसार, “यदि अवसर, सहि मार्गदर्शन, समर्पित शिक्षक र परिवारको साथ पाइयो भने, सबै बालबालिकाले सिक्न र अघि बढ्न सक्छन् – विशेष आवश्यकता भएका बालबालिकाहरू पनि।”
समावेशी शिक्षाको सन्देश
रेन्वो बोर्डिङ स्कुल, SSDRC परिवार र अभिभावकको समन्वयमा भएको यो सफलताको उदाहरण समावेशी शिक्षा प्रणालीको उत्कृष्ट नमुना बनेको छ।
सबिता उप्रेती भन्छिन्, “बच्चाको विशेषतालाई बुझेर, माया र धैर्यका साथ शिक्षाको वातावरण बनाइयो भने, हरेक बच्चाले आफ्ना क्षमता अनुसार असाधारण सफलता प्राप्त गर्न सक्छ।”
केन्द्र न्युज अस्ट्रेलिया परिवारले पनि आदेश राज काफ्ले लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ ।
Comments