Nawin Pradhan, Melbourne Australia
मेलबर्न, सेप्टेम्बर १३ – अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज लिला तिवारी पौडेलले जितेकी छन्। आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिले निर्णायक र दर्शकलाई प्रभावित पार्दै उनले उपाधि आफ्नो नाममा राखिन्।
विजेतासँगै पौडेलले “एलीगेन्ट वाक” उपाधि, १,००० अष्ट्रेलियन डलर नगद, ५०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न पुरस्कार प्राप्त गरिन्।
प्रतियोगितामा सिवानी कट्टेल पहिलो रनर–अप घोषित भइन्। उनले “कन्फिडेन्स” उपाधि जित्दै ६०० अष्ट्रेलियन डलर नगद तथा ३०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाएकी छन्। दोस्रो रनर–अप आश्मा (एश) चालिसे भइन्। उनले “ग्रेसफुल डीभा” उपाधिसहित ४०० अष्ट्रेलियन डलर र २०,००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जितिन्।
बुटवलकी रहिवासी र हाल मेलबर्नको मिकलह्याममा बसोबास गर्दै आएकी पौडेल पेशाले नर्स हुन्। उनी पेशागत जीवनसँगै यात्रा गर्न रुचाउने बताउँछिन्।
यस पहिलो संस्करणमा अष्ट्रेलियामा बस्ने चौध जना नेपाली विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए। सौन्दर्य मात्र नभई नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सवका रूपमा यो प्रतियोगिता सम्पन्न भएको आयोजकले बताएका छन्।
अन्य उपाधि प्राप्त गर्नेमा आकृति सापकोटा (बोल्ड एण्ड ब्युटी), आरती सिंह (इन्टेलेक्चुअल), जमुना अधिकारी रिजाल (कन्जेनियलिटी), निवा प्रजापति साहुखल (सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी), सन्ध्या भट्टराई (हर्ट अफ गोल्ड), जस्मिन चौलागाईं ढकाल (मिसेस पोइज), अनुजा मल्ल ढकाल (ट्यालेन्ट), विद्या पनेरू (डिसिप्लिन), रश्मी अधिकारी (फोटोजेनिक), दीपा खनाल (बेस्ट एटिच्युड) र सरस्वती श्रेष्ठ (फेसनिष्टा) रहेका छन्।
प्रतियोगितालाई रोजिन शाक्यले कोरियोग्राफी तथा सञ्चालन गरेका थिए। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा मिरेकल माइग्रेशन एण्ड एजुकेशन प्रिजेन्टिङ पार्टनर र ग्रेस इन्टरनेशनल पावर पार्टनर रहेका थिए।
निर्णायक मण्डलमा कलाकार प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, व्यवसायी विनोद कुवर, सागर शाही र प्रकाश रेग्मी रहेका थिए। कार्यक्रममा नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए।
आयोजकले मिसेस नेपाल अष्ट्रेलिया मार्फत विवाहित महिलाको नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासलाई प्रोत्साहित गर्ने लक्ष्य रहेको र यसले नेपाली संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने बताए।
Comments