Latest Posts +

Popular Posts +

एकीकृत समाजवादीले समान विचारधारा भएका दलहरूसँग पार्टी एकताको पहल गर्ने

Kendra news
September 20, 2025

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको राजनीतिक अनिश्चितता र चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै समान विचारधारा भएका वामपन्थी तथा समाजवादी शक्तिसँग पार्टी एकता गर्ने पहल गर्ने निर्णय गरेको छ।

शुक्रबार सानेपामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले मुलुकमा देखिएको अस्थिरता, जनगुनासा र राजनीतिक असन्तुलन समाधान गर्न वामपन्थी शक्तिहरू एकजुट हुन जरुरी रहेको धारणा राखे। उनका अनुसार, कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न एकताबद्ध प्रयास अपरिहार्य बनेको छ।

बैठकले १० बुँदे निर्णय पारित गर्दै, पार्टीको नीति, विचार, सिद्धान्त र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी दल र समूहहरूसँग पार्टी एकता र सहकार्यका लागि पहल गर्ने जनाएको छ।

यस्तै, पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक समाज र सरोकारवालासमक्ष जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

बैठकले विगतका कामको समीक्षा गर्दै, देखिएका कमजोरी सच्याएर सुधारका कदम चाल्ने प्रतिबद्धता पनि सार्वजनिक गरेको छ। पार्टीका अनुसार राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित र मुलुकको समृद्धि आफ्ना मूल प्राथमिकता हुनेछन्।

एकीकृत समाजवादीले अन्य राजनीतिक दललाई पनि आ–आफ्ना गतिविधि र कामको समीक्षा गरी कमजोरी सच्याउँदै राष्ट्रिय सरोकारका विषयमा साझा अभियानमा सहभागी हुन आग्रह गरेको छ। पार्टीले सहकार्य र समन्वयमार्फत मात्र मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउन सकिने विश्वास व्यक्त गरेको छ।

विशेषज्ञहरूको भनाइमा, एकीकृत समाजवादीको यो निर्णयले आगामी निर्वाचनपूर्व वामपन्थी दलहरूको बीचमा नयाँ राजनीतिक समीकरण सिर्जना गर्ने संकेत दिएको छ।

Comments

Trending