काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा नेतृ आरजु राणा देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा दम्पती पार्टी कार्यालयमा उपस्थित भएका हुन् । आन्दोलनपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका देउवा र आरजु राणालाई कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । देउवाले आफैं उपस्थित रहँदै खड्कालाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
मंगलबार बिहान बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठक भने निर्धारित समयभन्दा साढे एक घण्टा ढिलो गरी स्थगित गरिएको छ । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बैठक स्थगित भएको जानकारी दिँदै अब बिहीबार पुनः बैठक बस्ने बताइन् ।
सभापति देउवासँग आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एजेन्डाबारे छलफल गरेका थिए । सभापतिको परामर्शमा एजेन्डा पेस गर्ने प्रचलनअनुसार तयारी भइरहेको देउवाको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी कुटपिट गरेका थिए । त्यसयता देउवा र उनकी पत्नी सार्वजनिक रूपमा देखिएका थिएनन् । आजको उपस्थिति देउवा दम्पतीको राजनीतिक गतिविधिमा पुनः सक्रियता फर्किएको संकेतका रूपमा लिइएको छ ।
Comments