काठमाडौं — नेपाली कांग्रेसले तत्कालका लागि कार्यवाहक सभापति तोक्ने वा विशेष महाधिवेशन आह्वान गर्ने निर्णय नगर्ने जनाएको छ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रूपमा स्वास्थ्य लाभ भएपछि मात्रै केन्द्रीय समिति बैठकमार्फत आवश्यक निर्णय गर्ने ठहर गरेको छ।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार अहिलेको अवस्थामा कुनै कार्यवाहक नेतृत्व आवश्यक नरहेको र देउवा स्वस्थ भएपछि मात्रै पार्टीका महत्वपूर्ण विषयमा छलफल गरिने बैठकले निष्कर्ष निकालेको हो।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमा कुटपिटबाट घाइते भएका देउवा हाल उपचाररत छन्। यादवका अनुसार दशैं–तिहार सकिएपछि केन्द्रीय समिति बैठक बोलाइने र त्यस बैठकमा पार्टीका संवेदनशील विषयमा निर्णय गरिनेछ।
बैठकले सभापति देउवा र उनकी पत्नीको शीघ्र स्वास्थ्य लाभको शुभकामना समेत प्रकट गरेको छ।
Comments