अष्ट्रेलियन राजधानी क्षेत्र (ACT) का नेपाली समुदाय प्रतिनिधिहरूको एक प्रतिनिधिमण्डलले प्रहरी, दमकल तथा आपतकालीन सेवा सम्बन्धी ACT मन्त्री डा. मारिसा प्याटरसनसँग हालै क्यानबेरामा दुईवटा नेपाली- अष्ट्रेलियाली स्वामित्वका सुनचाँदी पसलहरूमा भएको ठगी प्रकरणबारे फलदायी छलफल गरेको छ।
नेपाली समुदाय प्रतिनिधिमण्डलमा निम्न प्रतिनिधिहरू सहभागी थिए:
- डा. कृष्ण हमाल, सार्वजनिक परिषद् अध्यक्ष, फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (FeNCAA)
- युव पौडेल, उपाध्यक्ष, अष्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS)
- सन्तोष मल्ल, अध्यक्ष, सनातन समाज अष्ट्रेलिया (SSA)
- ललित मल्ल, समन्वयक (निर्वाचित), गैरआवासीय नेपाली संघ ACT (NRNA ACT)
- यज्ञ अधिकारी, अध्यक्ष, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ACT (NKSSP ACT)
- अमृत सुनार र करिश्मा हमाल सुनार, सिद्धा ज्वेलर्स क्यानबेरा
प्रतिनिधिमण्डलले मन्त्री प्याटरसनप्रति गहिरो आभार व्यक्त गर्दै ठगीको शिकार भएका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्न व्यवसाय स्थलमै पुग्नु भएको सक्रियता र यस घटनाबाट प्रभावितहरूप्रति देखाउनु भएको समवेदनशीलता प्रशंसायोग्य भएको बताएका छन्। साथै, मन्त्रीले पीडितहरूलाई सहायता गर्न र समुदायमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न नेपाली संस्थाहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
नेपाली समुदाय मन्त्री प्याटरसनको निरन्तर सहयोग र सहकार्यको लागि आभारी छ। साथै, मन्त्रीकी सल्लाहकार कशिश कुमारप्रति पनि नेपाली समुदायका तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ, जसले समुदायप्रति सधैं सहयोग र समर्थन जनाउँदै आउनुभएको छ।
Comments