RBA ले मुद्रास्फीति र श्रम बजारको स्थितिलाई ध्यानमा राख्दै नगद दर यथावत् राख्ने सर्वसम्मत निर्णय गरेको छ।
१४ अक्टोबर २०२५
अष्ट्रेलियाको रिर्जभ बैंक (RBA) ले हालको नगद दर (cash rate) यथावत् राख्ने निर्णय गरेको छ, किनभने आधारभूत मूल्यवृद्धि (underlying inflation) घट्ने गति सुस्त बन्दै गएको देखिएको छ। बैंकका अनुसार २०२२ को उच्चतम बिन्दुयता मुद्रास्फीति उल्लेखनीय रूपमा घटेको भए पनि, ताजा तथ्यांकले सेप्टेम्बर त्रैमासिकमा मुद्रास्फीति अपेक्षाभन्दा बढी हुन सक्ने सङ्केत देखिएको छ।
आर्थिक गतिविधि बिस्तारै पुनरुत्थानको दिशामा अघि गएको छ भने निजी माग (private demand) सार्वजनिक खर्चको सट्टा विकासको प्रमुख तत्त्व बनेको छ। वास्तविक घरेलु आय (real household income) बढ्दै जाँदा र वित्तीय अवस्थाहरू सहज हुँदै जाँदा निजी उपभोगमा वृद्धि देखिएको छ। ब्याजदर घटाइएपछि आवास बजार पनि मजबुत बन्दै गएको छ, जसले मौद्रिक नीतिको प्रभाव देखाउन थालेको संकेत गर्छ। घरपरिवार र व्यवसाय दुबैका लागि ऋण सजिलै उपलब्ध भएको बताइएको छ।
श्रम बजार सामान्यतया स्थिर देखिएको छ। रोजगार वृद्धिदर केही सुस्त भए पनि बेरोजगारी दर अगस्ट महिनामा ४.२ प्रतिशतमै स्थिर रहेको छ। श्रम उपयोग दर (labour underutilisation) कमै रहँदा तलब वृद्धिदर शिखर बिन्दुबाट केही घटेको छ, तर उत्पादनशीलता कमजोर र श्रम लागत उच्च रहेको RBA को मूल्यांकन छ।
RBA ले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै तत्त्वका कारण आर्थिक दृष्टिकोणमा अनिश्चितता कायम रहेको बताएको छ। राष्ट्रिय तर्फ, अपेक्षाभन्दा बढी उपभोग वृद्धि निरन्तर भयो भने व्यवसायहरूले लागत बढोत्तरी उपभोक्तामा सार्न सक्ने र श्रम माग बढ्ने सम्भावना रहन्छ। तर, उपभोगको यो वृद्धि अस्थायी पनि हुन सक्छ।
विश्व अर्थतन्त्रमा पनि अनिश्चितता कायम छ। अमेरिकाको ट्यारिफ नीतिहरू र अन्य देशहरूको नीति प्रतिक्रियाको दायरा केही स्पष्ट भए पनि, व्यापार नीतिहरूले दीर्घकालीन रूपमा विश्व आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने अपेक्षा गरिएको छ। साथै, भू-राजनीतिक जोखिमहरू अझै पनि विश्व अर्थतन्त्रका लागि चुनौती बनेका छन्।
रिर्जभ बैंकले हालको अवस्थालाई ध्यानमा राख्दै, मूल्य स्थिरता (price stability) र पूर्ण रोजगार (full employment) कायम राख्न आफ्नो प्राथमिकता दोहोर्याएको छ। निजी माग पुनरुत्थान हुँदै गएको, केही क्षेत्रमा मुद्रास्फीति कायम रहेको र श्रम बजार स्थिर देखिएको पृष्ठभूमिमा बैंकको बोर्डले ब्याजदर यथावत् राख्ने सर्वसम्मत निर्णय गरेको हो।
RBA ले भनेको छ — वित्तीय अवस्था वर्षको सुरुदेखि सहज हुँदै गएको छ र यसको पूर्ण प्रभाव देखिन अझ समय लाग्नेछ। बैंकले नीतिगत सतर्कता जारी राख्ने र आगामी निर्णयहरू तथ्यांक र जोखिम मूल्याङ्कनका आधारमा गर्ने प्रतिबद्धता जनाएको छ। आवश्यक परे मौद्रिक नीति अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिवर्तनहरूमा छिटो प्रतिक्रिया दिन तयार रहेको पनि RBA को भनाइ छ।
स्रोत: रिर्जभ बैंक अफ अष्ट्रेलिया (RBA)
Comments