अपराध मामिलामा प्रहरीले सोधपुछ गर्दा वकिल बिना के- कति बोल्नु राम्रो ?
अपराध मामिलामा प्रहरीले सोधपुछ गर्दा वकिल बिना के– कति बोल्नु राम्रो ?
Moti Naral, Lawyer – Australia
यदि तपाईँ आपराधिक मामिलामा पर्नुभयो भने अवश्य पनि तपाईंलाई प्रहरीले त्यही आपराधिक मामिलामा सोधपुछ गर्छन्,यस्तो अवस्थामा धेरैले सोच्ने गर्छन् कि प्रहरीलाई पूर्ण रूपमा सहयोग गर्नु र आफ्नो पक्ष स्पष्ट पार्नु राम्रो हुनेछ। कानुनी रूपमा यही भएतापनि , धेरै अवस्थामा, यो झन् हानिकारक हुन सक्छ। अष्ट्रेलियाको कानुनअनुसार, मौन रहने अधिकार तपाईंको एक मौलिक अधिकार हो र यो अधिकार प्रयोग गर्नुले अनपेक्षित कानुनी समस्याबाट जोगिन मद्दत गर्न सक्छ।
आपराधिक मामिलामा तपाईले आफू निर्दोष छू भनेर प्रहरी वा अदालत लाई प्रमाणित गर्नुभन्दा पनि प्रहरी वा अदालतले तपाई दोषी हो भनेर ( beyond reasonable doubt) प्रमाणित गर्नुपर्ने हुन्छ। यस्तो बेला मा केही केही कुराहरू स्वीकार गर्दा पनी उनीहरूलाई तपाई दोषी प्रमाणित गर्न सहयोग पुग्न सक्छ ।
मौन रहने अधिकार के हो?
अष्ट्रेलियामा, अधिकांश अवस्थामा, तपाईं प्रहरीलाई सबै प्रश्नहरूको उत्तर दिन कानुनी रूपमा बाध्य नै हुनुपर्छ भन्ने होइन। केही विशेष परिस्थितिहरू (जस्तै: आफ्नो नाम, ठेगाना, वा चालक अनुमतिपत्र देखाउनुपर्ने अवस्थाहरू) को परिचय सन्दर्भबाहेक तपाईंलाई कुनै पनि प्रश्नको उत्तर दिनु आवश्यक हुन सक्छ। किनभने तपाईं आपराधिक मामिलामा के कति प्रमाणको आधारमा पर्नुभएको छ र त्यसको कानुनी उपचार के हुन्छ तपाईंलाई सबै थाहा नहुन सक्छ
यो अधिकार तपाईंको सुरक्षाका लागि छ किनभने तपाईंले भनेका कुनै पनि कुरा अदालतमा तपाईंविरुद्ध प्रमाणका रूपमा प्रयोग हुन सक्छ। चाहे तपाईं निर्दोष नै किन नहुनुहोस्, प्रहरीसँग वकिल को सल्लाहबिना बोलेका कुराहरू गलत रूपमा बुझिन सक्छन्,तपाईँको आपराधिक मामिला भन्दा बाहिरको विषयवस्तु हुन सक्छ, वा तपाईंविरुद्ध अरु थप प्रमाण संकलन गर्न प्रयोग गर्न सकिन्छ।
यस्तो मामिलामा किन प्रहरीसँग वकिलबिना बोल्नु हुँदैन?
1. तपाईंले आफ्नो केसलाई नोक्सान पुर्याउने कुरा भन्न सक्नुहुन्छ, दबाबमा परेर वा अत्तालिएर मानिसहरूले कहिलेकाहीं अधूरो, असत्य, वा गलत बुझिने कुराहरू बोल्छन्। तपाईंको निर्दोष टिप्पणीलाई समेत अपराधको प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ।
2. यस्तो अवस्थामा प्रहरीको प्रमुख काम अनुसन्धान गर्नु हुन जान्छ न कि, तपाईंको मद्दत गर्नु होइन
प्रहरीहरू सहयोगी वा मैत्री देखिए पनि, उनीहरूको प्रमुख काम अपराध अनुसन्धान गर्नु हो, तपाईंको सुरक्षाका लागि होइन। उनीहरू तपाईंलाई तपाईँको आपराधिक मामिला बारे साँचो जानकारी दिन पनि बाध्य हुँदैनन्।
3. तपाईंको बयान परस्परविरोधी हुन सक्छ, सत्य कुरा गरे तापनि, यदि तपाईंको बयान अलिकति मात्र फरक पर्यो भने, त्यसलाई झूटको रूपमा प्रयोग गर्न सकिन्छ।
4. तपाईंलाई प्रहरीले पहिले नै संकलन गरेका प्रमाणहरूको जानकारी दिँदैनन्, यदि तपाईं प्रहरीसँग कुरा गर्नुहुन्छ भने, तपाईं लाई केही थाहा नभएको वा नबुझेको कारणले उनीहरूलाई थप प्रमाण र अनुसन्धान को नयाँ बाटो लिन सक्छन्। जसले तपाईं विरुद्धको मामिला अझै बलियो बनाउन सक्छन्।
5. तपाईंको मौनता तपाईंविरुद्ध प्रयोग गर्न सकिँदैन, अष्ट्रेलिया को कानुनअनुसार, मौन बस्नुले तपाईं अपराधी हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन। त्यसैले, बोल्नुको सट्टा मौन बस्नु वा थाहा भएको आफ्नो व्यक्तिगत-परिचययात्मक विवरण मात्र दिनुनै राम्रो हुन्छ।
यदि प्रहरीले तपाईंलाई सोधपुछ गर्न चाहे भने के गर्ने?
प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नु हजुरको जिम्मेवार रहन्छ। र कानुनी दायित्व पनि हुन्छ। त्यसैले शान्त र सभ्य भाषामा आफ्ना कुराहरू राख्नुहोस्– प्रहरीसँग विवाद नगर्नुहोस्।
प्रश्न गर्नुहोस् कि तपाईं पक्राउ परेको हुनुहुन्छ कि छैन – यदि होइन भने, तपाईं त्यहाँबाट जान पाउनुपर्छ।
यदि तपाईं पक्राउ परेका हुनुहुन्छ भनेपक्राउ पर्नुको कारण र तुरुन्तै वकिलको माग गर्नुहोस् , वकिलको सल्लाहबिना कुनै प्रश्नको उत्तर नदिनुहोस्।
सजिलो जवाफ दिनुहोस्: “ यस मामिलामा म कुनै प्रश्नको उत्तर दिन चाहन्न, म वकिलसँग सल्लाह लिन्छु।”
मौन रहने अधिकार तपाईंको सबैभन्दा महत्त्वपूर्ण कानुनी अधिकारहरूमध्ये एक हो। निर्दोष भए तापनि, प्रहरीसँग वकिलको सल्लाहबिना बोलेका कुराले तपाईंको केसलाई कमजोर बनाउन सक्छ।
यदि तपाईं प्रहरीको सोधपुछमा पर्नुभएको छ वा कुनै प्रकारको आपराधिक अभियोग सामना गरिरहनुभएको छ भने,
वा तपाईँलाई अस्ट्रेलियामा कुनै पनि कानुनी सल्लाह चाहिएको छ भने वकिललाई तुरुन्तै सम्पर्क गर्नुहोस्। तपाईंको भविष्य सुरक्षित राख्न यो निर्णय महत्त्वपूर्ण हुन सक्छ।
तपाईँले सिधै वा केन्द्र न्युज अस्ट्रेलिया को माध्यमबाट पनि मोती नराल वकिल ज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ।
Moti Naral , Lawyer- Australia
