अष्ट्रेलियाका नेपाली सामुदायिक नेतृत्वलाई एउटा ऐना—सँगै प्रश्नवाचक ?

निशान पौडेल

सिडनी-अष्ट्रेलिया

रातको अन्तिम ट्रेन।  थाकेको शरीर, झोलाभरि सपना, र भोलि फेरि उही संघर्ष दोहोरिने निश्चितता।

यो कुनै एक व्यक्तिको कथा होइन—अष्ट्रेलियाका ठूला सहरका स्टेशनहरूमा राति १२ बजेपछि देखिने असंख्य नेपाली विद्यार्थीहरूको साझा यथार्थ हो।

तर विडम्बना के छ भने, यही यथार्थ अष्ट्रेलियास्थित नेपाली सामुदायिक नेतृत्वको सामाजिक सञ्जालमा देखिँदैन। त्यहाँ देखिन्छन् त केवल BBQ, Cultural Night र ‘Chief Guest’ का हँसिला तस्बिरहरू। यी गतिविधि आवश्यक छैनन् भन्ने हाम्रो मान्यता होइन—अष्ट्रेलिया बहुसांस्कृतिक देश हो, जहाँ आफ्नो भाषा, धर्म र संस्कृति जोगाउनु स्वाभाविक र अधिकारको कुरा हो।

तर प्रश्न प्राथमिकताको हो।

सामाजिक संस्थाहरू AGM का बेला वा अस्ट्रेलियन सरकारबाट सामुदायिक ग्रान्ट प्राप्त गर्न “समुदायका लागि काम गरेका” प्रस्तावहरू पेश गर्छन्। फोटो–भिडियो बनाएर गतिविधि देखाइन्छ। तर सानो मार्गदर्शन खोजिरहेका नव आगन्तुक  मध्यमवर्गीय विद्यार्थीहरू काम कसरी खोज्ने, सुरक्षित कोठा कसरी पाउने, कमसेकम एउटा ‘community guardian’ भनेर चिन्न खोज्ने—नयाँ विद्यार्थीहरूका व्यथा कता हराइरहेका छन्?उनीहरुले आफै संघर्ष गर्दै गरेको अवस्था छ ।

यो भन्न खोजिएको होइन कि संस्थाहरूले केही पनि गरेका छैनन्। तर गाला डिनर, बिजनेस एक्सपो र कल्चरल नाइट जस्ता कार्यक्रमहरू प्राथमिकतामा पर्दा, जीवनका आधारभूत समस्या बोकेका विद्यार्थीहरू भने एजेन्डाको छेउमै पुग्न सकेका छैनन्। यस्ता कार्यक्रममा नयाँ अनुहार प्राय देखिँदैन । 

अझ विडम्बनाको कुरा—यी कार्यक्रममा प्रायः Permanent Resident र Australian Citizen भइसकेका व्यक्तित्वहरूलाई नै विशेष प्राथमिकता दिइन्छ।ताकि  Permanent Resident र Australian Citizen भइसकेका व्यक्तित्वहरूलाई संकटमा पर्दा सहयोग गर्न अस्ट्रेलियन सरकार स्वयं उपस्थित हुन्छ। तर विद्यार्थी भिसामा नेपालबाट मध्यमवर्गीय परिवारको व्यक्तित्वहरू जो आउनुहुन्छ उहाँहरुलाई कामको समय सीमा, नयाँलाई काम पाउन गाह्रो, कोठा भाडामा पाउन गाह्रो यी समस्या अहिले पनि यथावत नै छन् यसमा अस्ट्रेलियन सरकारले कानुनी रुपमा सहयोग गर्न अवस्था हुँदैन यी समस्याहरूलाई हामीले सामुदायिक संस्थाबाटै एकआपसमा गरिनुपर्दछ। 

विद्यार्थी भिसामा ठूलो खर्च गरेर आएका, सुरुका वर्षहरू अत्यन्त कठिन हुने हजारौँ नेपाली विद्यार्थीहरूकै लागि त यी सामाजिक संस्थाहरू खोलिएका थिएनन् र?

तर आज ती संस्थाहरूका उद्देश्य नारामा मात्र सीमित हुँदै गएको अनुभूति भइरहेको छ।

विद्यार्थी किन नेतृत्वको केन्द्रमा छैनन्?

यसअघि केन्द्र न्युजले केही सामुदायिक व्यक्तित्वहरूलाई सोध्दा आउने जवाफ प्रायः उस्तै हुन्छ—
“विद्यार्थी त चाहिन्छन्, तर उनीहरूसँग संस्था चलाउन समय हुँदैन।संस्थालाई दिने समय उनीहरूसँग पर्याप्त हुँदैन। उनीहरू आफ्नो पढाइ र जागिरमा व्यस्त हुने हुँदा सामुदायिक कार्यमा त्यति अग्रसर हुन नसकेको अवस्था”

यो जवाफ आफैंमा गम्भीर प्रश्न हो। के समुदाय भनेको समय भएका मानिसहरूको क्लब मात्र हो?

यति मात्र होइन कुनै एकजना व्यक्तित्वले एउटा मिडियाको वार्तालापमा भन्नुभएको थियो “ पैसा कमाएर मात्र समाजसेवामा आउनु”

नेतृत्व जसले गर्नुस्। त्यो सरोकारको विषय होइन। तर नेपाली विद्यार्थी नेपाली समुदाय जो अस्ट्रेलियामा विभिन्न कारणले अप्ठ्यारो अवस्थामा परेको छ। त्यसको लागि कमसेकम केही पहल त गरिदिनुहोस्। हाम्रो मान्यता यही हो। विद्यार्थी हामी नेतृत्वमा वा सामाजिक संस्थामा नआउँला ।

TR र PR बिना आवाज छैन?

आजको नेपाली समुदायमा Valuable person  हुन Temporary Graduate (TR) वा Permanent Resident (PR) हुनैपर्ने हो त?
के समस्या सुनिनका लागि रातो पासपोर्ट नै बोक्नुपर्छ?

काम नपाएर तनावमा बसेका विद्यार्थी, चर्को भाडाले थिचिएका युवा, र मानसिक एक्लोपनसँग लडिरहेका अनुहारहरू—यी विषयहरू सामुदायिक एजेन्डामा किन पर्दैनन्?

BBQ मात्रै कि समाधान पनि?

अहिले अष्ट्रेलियामा नेपाली समाज हुनुको अर्थ केवल BBQ आयोजना गर्नु मात्र हो कि जस्तो लाग्न थालेको छ।
मान्छे भेला पार्ने, फोटो खिच्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, अनि “नेपालीपन जोगायौँ” भन्ने सन्तुष्टि लिने।

तर त्यही भिडमा उभिएको नयाँ विद्यार्थीको मनभित्रको डर, अन्योल र असुरक्षालाई कसले देख्ने?

चुनावका बेला विद्यार्थी सम्झिने नेतृत्व, जितेपछि आफ्नै व्यवसायको प्रचारमा व्यस्त देखिन्छ। विद्यार्थीहरू कार्यक्रमका लागि ‘भीड’ देखाउने साधन मात्र बनेका छन्।

विद्यार्थीको वास्तविक संकट

आज अष्ट्रेलियामा रहेका हजारौँ नेपाली विद्यार्थी निम्न समस्यासँग जुधिरहेका छन्—

  • काम नपाउँदाको मानसिक तनाव
  • चर्को भाडा र अस्थिर बसोबास
  • परिवार र समाजबाट टाढा हुँदा हुने गहिरो एक्लोपन
    यी समस्याबारे बोल्न अब कुन अर्को “कार्यक्रम” कुर्नुपर्ने हो?

सानो समूह, ठूलो मन

यही सन्दर्भमा केही साना विद्यार्थी–केन्द्रित समूहहरू—जस्तै Chitwan Sydney Boys, Chitwan Melbourne Boys र Chitwan Canberra Boys—ले उदाहरणीय काम गरिरहेका छन्।

उनीहरू भन्छन्:
“हामीसँग जादुको छडी छैन, तर हामी सुन्न सक्छौँ।
हामीसँग ठूलो बजेट छैन, तर समय र संवेदना छ।”

यही नै त समुदाय हो।

नेतृत्वको पुनःपरिभाषा आवश्यक

समुदाय भनेको रमाइलोमा मात्र देखिने संरचना होइन।
दुःखमा साथ दिन नसक्ने नेतृत्व ‘नेतृत्व’ होइन—त्यो केवल इभेन्ट म्यानेजर हो।

१८–२० वर्षका ती युवा, देश छोडेर आउँदा एउटा यस्तो समाज खोजिरहेका हुन्छन् जसले भनोस्—
“केही गाह्रो परे सम्झिनु, हामी छौँ।”

ठूलो चन्दा होइन, ठूलो भाषण होइन—केवल भरोसाको एउटा वाक्य पर्याप्त हुन्छ।

आत्ममन्थनको समय

यदि तपाईंको नेतृत्वमा विद्यार्थीहरूले अझै आफूलाई एक्लो र असुरक्षित महसुस गरिरहेका छन् भने, अब आत्ममन्थन आवश्यक छ।

फोटो र भाषणको प्रतिस्पर्धा छोडेर, थाकेका आँखामा आशाको चमक फर्काउने दिशामा सोचौँ।
ठूलो हुनु भनेको भीड जम्मा गर्नु होइन—जिम्मेवारी लिन सक्नु हो।

समुदाय भनेको उत्सवमा मात्र होइन, संघर्षमा पनि साथ देखिनु हो।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *