फेरि उदाउने छ घाम, रमाउने छ जून
— सुनिता अधिकारी
धर्तिको माटोमा बेरीदै,
नेपाल आमाको काँखमा हुर्कँदै,
देशले दिएको मायामा
म जनयुद्धको यौद्धा बनेँ,
शिक्षामा क्रान्तिको उपाधि लिएर।
मैले बिर्सेकी छैन पृथ्वीनारायण शाहलाई,
उनका चतुराइका पाठहरूलाई,
सानो सानो गाउँ घुलेर पिएको ज्ञानलाई —
लाग्थ्यो —
सिङ्गो पहाडले मेरो छातीलाई थिचेको थियो।
ब्रह्माको अस्त्रमा कसको के लाग्छ र ?
आज फुटेका छन् हिउँका वर्षाझैँ
माथिका ढुङ्गाहरू,
फरफराउँदै छन् मेरा पखेटा —
बादलले घेरिएको अधेरो हटाउन।
हटेपछि मेरो आँखाबाट त्यो बादल,
निश्छल गगन शान्त थियो।
चन्द्र र सूर्यले दिएको ताप —
कतै मैले बिर्सेकी थिएँ?
रात्रीकालमा देखेका सपना जस्तै,
घामको ताप र जूनसंग लज्जित छु,
निस्सन्देह बिर्सेँ बाबुको घरको ढोका —
क्रान्तिको मायामोहजालमा फसेर।
मेरो नयनबाट बगिरहेको
रातो आँसु, दुखेको मन, फाटेको कलेजो —
दुःख र दरिद्रतामा बाँचिरहेका
भोका पेट र नाङ्गा अंग —
तिमीले के दियौ र मेरो पिडामा ?
म तिम्रो साहाराको आशा गर्दिन।
आज मेरो सपना मारेर,
बालबच्चाको सपनालाई लत्याएर,
थुक्छु — तिम्रो अहङ्कारी सोचमाथि।
के गर्यौ मेरो लासमाथि ?
विजयको उन्मादमा रमाएर ?
हेर ! यहाँ करोडौं सुजन र बिरेन्द्रहरू
फेरि जन्मिदा रगतको खोलो बग्नेछ,
क्रान्तिकारी पुत्रहरू जन्मिनेछन्,
सङ्ग्राम आएर ग्रहण लाग्नेछ,
नवीन किरण फेरि झुल्किनेछ।
गोलीको शिशाले छिया पार्दै
अन्तरमुखी आत्माहरूमा —
कुन दैत्यको बिराजमान थियो ?
दाजुभाइ दिदी–बहिनीका आँसुहरूले रंगिएका ती रङ्ग —
अब कहिले रङ्गीएला ?
चन्द्र–सूर्यको मेरो देश ध्वजाजस्तै।
Comments