लेखः दशैं- समयसँगै रूप बदलिँदो चाड

दशैं- समयसँगै रूप बदलिँदो चाड

त्रिबिक्रम नेउपाने

दशैं नेपाली समाजको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो। यसले केवल धार्मिक आस्था मात्र होइन, पारिवारिक एकता, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पनि मजबुत बनाउने कार्य गर्दछ। प्रत्येक पुस्ताले यस पर्वलाई आफ्नो समय र परिस्थिति अनुसार अनुभव गर्ने भएकाले दशैंको स्वरूप स्थिर रहन सकेको छैन। इतिहासका पानामा अघिल्ला पुस्ताले भोगेको दशैं र अहिलेको पुस्ताले भोगिरहेको दशैंबीच ठूलो भिन्नता पाइन्छ। समयसँगै सामाजिक संरचना, प्रविधि र जीवनशैलीमा आएको परिवर्तनले दशैंको अनुभवलाई प्रत्यक्ष असर पारेको छ।

अघिल्ला पुस्ताको दशैं आत्मनिर्भरता र आत्मीयताले भरिएको थियो। दशैं आउनुअघि घर–आँगन सफा गर्ने, धान कुट्ने, नयाँ लुगा आफैं बुन्ने वा सिलाउने परम्परा परिवारकै हातमा हुन्थ्यो। गाउँ टोलमा सबै मिलेर पिङ खेल्ने, फूलपाती ल्याउने, जमरा राख्ने र देवी–देवताको पूजा गर्ने कार्यमा सामूहिकता देखिन्थ्यो। टाढा–टाढाबाट आएका दाजुभाइ, दिदीबहिनीले घर भर्ने गर्थे, र सानो घरमा पनि भिडभाड हुन्थ्यो तर हरेकको मन ठूलो हुन्थ्यो। दशैंको असली आनन्द भव्य भोज वा महँगो सामग्रीमा होइन, सादगी, आत्मीयता र पारिवारिक मिलनमा थियो। एक पसर चिउरा पनि बाँड्दा सबैको मन तृप्त हुन्थ्यो। बालबालिकाले नयाँ लुगा पाउँदा हर्षित हुन्थे, आमाबुबाको टिका थाप्दा आत्मीयता अनुभव गर्थे। पिङमा उड्दा, हावा लाग्दा बाल्यकालको स्वतन्त्रता महसुस हुन्थ्यो र देवीको थानमा चढाएको फूलले मनमा श्रद्धा र विश्वास भर्न्थ्यो।

तर अहिलेको दशैंले पूर्णरूपमा फरक स्वरूप लिएको छ। घरको तयारीभन्दा बढी बजार र अनलाइन सपिङले दशैंको रूप निर्धारण गर्न थालेको छ। विदेशमा बस्ने परिवारजनले टिका मोबाइल वा भिडियो कलमार्फत थाप्छन्। सामाजिक सञ्जालमा फोटो सेयर गर्नु नै दशैंको अनुभवको मुख्य माध्यम बनेको छ। होटलमा भोज, महँगो सामान, ब्रान्डेड कपडा र देखावटी प्रतिस्पर्धाले चाडलाई उपभोक्तावादी पर्व बनाइदिएको छ। पूजा र पारंपरिक खेलहरू गुम्दै गएको अवस्थामा रमाइलो र विलासिताले नयाँ पुस्ताको मनोविज्ञानलाई प्रभाबित गरेको छ। आस्था भन्दा बढी देखावट र प्रविधिको प्रभावले दशैंको वास्तविक अनुभूति घटाएको छ।

समय र परिवेशले दशैंलाई फरक स्वरूप दिएको भए पनि यसको मूल भाव भने माया, भेटघाट र आत्मीयता अझै महत्वपूर्ण छ। पुरानो पुस्ताले दशैंलाई सन्तोष र आत्मीयताको पर्वका रूपमा अनुभव गर्थे, जहाँ थोरै भए पनि पर्याप्त ठानिन्थ्यो। नयाँ पुस्ताले दशैंलाई तुलना, प्रतिस्पर्धा र उपभोगको दृष्टिले हेर्छ। यही कारणले पुरानो पुस्तामा घर सानो भए पनि मन ठूलो हुन्थ्यो भने अहिले घर ठूलो भए पनि मन सानो भएको अनुभूति हुने गर्छ।

समाज परिवर्तनशील हुन्छ, त्यसैले चाडपर्वको स्वरूप बदलिनु स्वाभाविक हो। तर परिवर्तनको प्रवाहमा दशैंको मूल आत्मा हराउनु हुँदैन। यदि हामीले आधुनिक प्रविधि र बजारको आकर्षणसँगै पुरानो पुस्ताको सादगी, पारिवारिक मिलन र सामूहिकता पनि सुरक्षित राख्यौं भने मात्र दशैं साँचो अर्थमा समय–सापेक्ष र सान्दर्भिक रहन सक्छ। दशैं केवल चाड मात्र होइन, यो हाम्रो संस्कृति, हाम्रो मूल्य र हाम्रो आत्माको प्रतिबिम्ब हो।

लेन्कास्टर पेन्सिलभेनिया
यू एस ए

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *