ACT मा सिट बेल्ट जाँच कडाइ: एक महिनामै २,८३९ चालकलाई जरिवाना
Umesh Dhakal
KNA -Canberra
ACT का सडकहरूमा सिटबेल्ट सुरक्षामा थप कडाइ बढाइएको छ । ३ नोभेम्बर २०२५ देखि ट्राफिक क्यामेरा मार्फत चालक र यात्रुहरूले सिटबेल्ट लगाएको छ कि छैन, र सही तरिकाले लगाएको छ कि छैन भन्ने कुरा जाँच गरिँदै आएको छ ।
३ देखि ३० नोभेम्बर २०२५ को अवधिमा चालकहरूलाई कुल २,८३९ सिटबेल्टसम्बन्धी जरिवाना जारी गरिएको ACT Government infringements तथ्याङ्कले देखाउँछ।
त्यसमध्ये:
- १,३३९ वटा जरिवाना चालकले सिटबेल्ट नलगाएको वा गलत तरिकाले लगाएको कारण,
- १,५०० वटा जरिवाना यात्रुले सिटबेल्ट नलगाएको वा गलत तरिकाले लगाएको कारण ।
विभागका अनुसार सवारी साधनमा रहेका सबै यात्रुले सिटबेल्ट सही रूपमा लगाएको सुनिश्चित गर्ने जिम्मेवारी चालकको नै हुन्छ । यात्रुको गल्ती भए पनि जरिवाना चालकलाई नै लाग्छ ।
सडक सुरक्षा अनुसार सिटबेल्ट गलत तरिकाले लगाउँदा दुर्घटनाको समयमा शरीर अगाडि सर्न सक्छ, जसले गम्भीर चोटपटक, विशेषगरी गाडीभित्रको भागमा टाउको ठोक्किने जोखिम बढाउँछ ।
सुरक्षित यात्राका लागि सिटबेल्ट काँध र छातीमाथि सिधा रूपमा राखिएको र कम्मरको हिप भागमा कसिलो गरी बाँधिएको हुनुपर्छ । सिटबेल्ट हातमुनि वा ढाडपछाडि लगाउने, सिट अत्यधिक ढल्काउने, वा बेल्ट बटारिएको र खुकुलो राख्ने जस्ता गल्तीबाट जोगिन समेत विभागले आग्रह गरेको छ । साथै सबै चालक र यात्रुलाई हरेक यात्रामा, हरेक सिटमा सिटबेल्ट सही रूपमा लगाउन अनुरोध गरिएको छ ।
सही तरिकाले लगाइएको सिटबेल्टले जीवन बचाउँछ।
ACT Government
