मृतक परिवारले ओली र लेखकविरुद्ध जाहेरी दिए, प्रहरीले जाँचबुझ आयोगमा पठायो

काठमाडौंमा मृतक परिवारले ओली र लेखकविरुद्ध जाहेरी दिए, प्रहरीले जाँचबुझ आयोगमा पठायो

काठमाडौं, असोज २१।
काठमाडौं जिल्ला प्रहरी परिसरले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारले दर्ता गराएको जाहेरी जाँचबुझ आयोगमा पठाएको छ। मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध जाहेरी दिएका थिए।

परिसरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार मंगलबार दिउँसो चार जना मृतकका परिवारले जाहेरी दर्ता गराएका थिए। भट्टराईले भने, “भदौ २३ र २४ गतेका घटनासम्बन्धी सबै भौतिक र मानवीय क्षतिसँग सम्बन्धित निवेदनहरू जाँचबुझ आयोगको कार्यक्षेत्रमा पर्ने भएकाले त्यहीँ पठाइएका छन्।”

जाहेरी दिने मृतकका परिवारमा पुरुषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरी रहेका छन्। उनीहरूले जाहेरीमा ओली र लेखकले “मानवता विरुद्धको अपराध र राज्यविरुद्धको अपराध” गरेको दाबी गरेका छन्।

एसपी भट्टराईका अनुसार मुलुकी अपराध संहितामा “मानवता विरुद्धको अपराध” भन्ने विषय छुट्टै रूपमा उल्लेख नभएकाले उक्त मुद्दा जाँचबुझ आयोगमार्फत अघि बढाइनेछ।

जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनाबारे भएको क्षति र जिम्मेवारी निर्धारणका लागि अनुसन्धान गरिरहेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *