पोखरा र कविता – ३

-गणिडकीपुत्र

पोखरा र कविता – ३

झमक्क साँझ पर्दा हामी एउटा कटेरोमा पुग्यौ । जस्तापाताको बेरा लगाएको , जस्तापाताले छाएको अनि भित्र कोठाहरु पनि जस्ता पाताले नै छुट्याएको । दाउराको धुवाँले कोठा नै अँध्यारो थियो । त्यसमाथी बोटलको बिर्को छेडेर मोटो कपडाको सलेदो हालेको मट्टितेलबाट बल्ने बत्तीबाट निस्किएको धुँवाको मुस्लो ।त्यो रात त्यही कटेरोमा बिताउनु पर्ने थियो । यो लेकको ठाउँ यसै पनि चिसो त्यसमाथी बिहान हामी हिड्दा देखिको फुसफुसे झरी । भित्र अरु केही मानिस थिए । कोहि रक्सी पिउदै थिए , कोहि चुरोट तान्दै थिए । तिनको चर्को आवाज र होटल साउनी माथीको छेडछाड , वातावरण नै अत्यास लाग्ने । हाम्रो गाडी चालक भाइले उहाँ सर कुन कोठामा सुत्ने हो देखाई दिनु ब्याग राख्नु हुन्छ भन्यो । साहुनीले उनकि सहयोगी केटि त्यै १९/२० बर्षकी हुँदी हो । उस्लाई बोलाएर सरलाई ४ नम्बर कोठा देखाई दे भनिन । साहुनी चुलामा तरकारी पकाउन ब्यस्त थिइन । धुँवाले उस्का आँखाबाट आँसु आइरहेको थियो र नाक स्याकस्याक गर्दै थियो । एकहातले आँसु र नाक पुच्छ्दै थिइ भने अर्को हातमा डाढु थियो । केटि म नजिक आई र मेरो झोला टिपेर आउनु सर भनी । म उस्को पछि लागें । उस्ले मलाई राम्रो कोठा दिएको भन्थी । भुइँ ओसले कालो थियो । कपडा पानीबाट झिके जस्ता चिसा । ब्याग ओछ्यानमा फ्याकेर उसैको पछि भान्सा भएको ठाउँमा आए । साउनीले सर रक्सी खानुहुन्छ भनेर सोधीन ऊ चुल्हो छेउमा बसेर अघि जस्तै आँसु र सिगान पुछिरहेकी थिइन । मलाई एउटा चाउचाउ उमाली देउन त्यही खान्छु भनेर जवाफ दिए। भात खान मन छैन भने । त्यो कोठामा चुल्हो र त्यतिका मानिस भएपनी चिसो थियो । लगाएका लुगा छेडेर चिसोले शरीरमा काँडा उम्रीएका थिए ।

एउटा कुच्चिएको कालो सिल्बरे डेक्चिमा पानी बसालेर साउनी त्यही हातले चाउचाउको प्याकेट च्यात्न थालीन । खै कुन चाउचाउ हो भनेर मैले साहुनीको हातबाट प्याकेट लिए र एउटा कचौरा मागे । उस्ले सिल्बरकै डवका दिइन । सायद यो डबका जाँड खान प्रयोग हुन्थ्यो होला । त्यो डबका पनि कुच्चिएको र मैलो थियो । यस्मा अलिकती तातो पानी दिनुस त भने र आफैले धोएँ । तर त्यो उज्यालो भएन । त्यही ध्वाँसे डबकामा चाउचाउ खन्याए । अलिकती नुन मागेर हाले । पानी उम्लिएपछी डवकाभरी पानी हाली मागे । एकछिन पछि त्यही चाउचाउ खाएर म ओछ्यानमा आएर घुस्रीए । पोखरीमा डुबुल्की लाए जस्तो चिसो ।

हामी बागलुङबाट बिहान ६/७ बजे निस्किएका थियौ । बाटो राम्रो भए ५ घन्टामा यो ठाउँ आइपुगिन्थ्यो होला । तर बाटो उबडखावड र कच्ची थियो । पानी परेर हिलाम्मे भएको । एउटा गाडी मुस्किलले हिड्ने बाटोमा गाडी कुनै कुनै खाल्डोबाट निकाल्न कोदालोले बाटाको हिलो पन्छाउनु पर्ने । बाटामा बिपरित दिशाबाट गाडी आए गाडी डिलमा अड्याएर बाटो दिनु पर्ने । गाडीबाट तल हेर्दा कहाली लाग्ने गहिराई । गाडीलाई बाटो दिनुपरे म गाडीबाट उत्रन्थे । म अग्लो ठाउँमा उभिएर तल हेर्न सक्तिन । डर लाग्छ । एकपटक केही कविहरुले काठमाडौ धरहरामाथी बाट कविता वाचन गर्ने कार्यक्रम बनाएछन । प्रमुख अतिथी थिए विद्वान समालोचक डि पि भण्डारी । उनी लाई थियो रहेछ एक्रोफोबिया । उनलाई धरहरामाथी दुईजनाले दुई तिर समाएर मुस्किलले उभ्याएका थिए अरे बोल्ने बेला । म पनि एक्रोफोबियाको बिमार रहेछु । अहिले पनि टिभी हेर्दा त्यस्ता अग्ला भिर अथवा पुल देखें भने हेर्न नसकेर अर्को तिर हेर्छु । एउटा आफैले भोगेको कथा सुनाई हालौं । म पाँचथर जिल्लाको यासोक गएको थिए । यासोकबाट तेह्रथुम जानू थियो । गाडी थिएन । यासोकबाट लागे पश्चिम । पाँचथर र तेह्रथुमलाई तमर नदिले छुट्याएको थियो । नदिमा अग्लो झोलुङ्गे पुल थियो । पुल फलामको बलियो थियो । म पुलमा पुगेर अडिएँ । कोहि मानिस आउछनकी भनेर । निकैबेर पर्खिएँ कोहि आएन । आ जे होला भनेर पुल तर्न हिडे । अलिकती त उभिएरै हिडें तर अलि अगाडि पुगेपछी सातो गयो । थुचुक्क पुलमा बसेर धेरै मुस्किलले चार हातपाउ टेकेर पुल तरें । ठमठम हिड्ने हो भने १५ मिनटमा पुल तरिन्थ्यो होला मलाई झण्डै एक घन्टा लाग्यो ।

चिसो ओछ्यान अलि तातो भएछ म निदाएँ । बिहान मानिसको हल्लिखल्लीले म ब्युँझिए । गाडीका स्टाफ गाडी स्टार्ट गर्न लागेका थिए । चिसोले होला गाडी धेरैबेरको प्रयासपछी स्टार्ट भयो । बाहिर हुस्सुले टम्म छ वातावरण । गाडी चालकले भने सर जाउँ तल बजार पुगेरै मुखहात धोउला । अब बाटो ओरालो थियो । उबडखावड बाटोमा गाडी पोथी हाँस ढल्किएर हिडे जसरी हिड्दै थियो । एक घन्टा ओरालो झरेपछी कुइरो हरायो । वरपरका डाँडा पाखा देखिन थाले । निकै तल देखियो गलकोट बजार । बिहानको १० बजेको समय हामी चढेको गाडी एउटा पसल अगाडि रोकियो ।

एकाअर्कामा सङ्ग जोडिएका लहरै घरहरु , सामान्य चौडाई भएका बाटाहरु , मानिसको पातलो ओहोर दोहोर , चारैतिर पहाडले घेरिएको रमाइलो उपत्यका जस्तो ठाउँ रहेछ गलकोट बजार । गाडीको सहयोगी भाइले मलाई एउटा होटलमा लिएर गए । होटलको साहुले आफ्नो काम गर्ने केटोलाई बोलाएर सरलाई दुई नम्बर कोठामा लिएर जा भन्यो । म उस्को पछि लागें । कोठा सफा नै थियो । कोठामै जोडिएको बाथरुम । भाईलाई भने बाबू एक कप कालो चिया ल्याउ ल । उ हस भनेर तल झर्यो । म भने बाथरुम छिरें । म फ्रेस भएर कपडा फेर्नै लागेको ठोका ठकठक गर्यो । ठोका खोलेको केटो अग्लो शिसाको ग्लासमा कालो चिया लिएर उभिएको रहेछ । चिया लिएँ केटो गयो । चिया खाएर म बजार घुम्न निस्किए । प्राय पसल खुलेको थिए । प्लाष्टिकमा प्याक गरिए कुरमुरे , चाउचाउ झुण्ड्याएका ,कतै गुड्काका लहरा टांगिएका , कतै महिलाले लगाउने बक्षपोस झुण्ड्यएका , कतै भाडाकुढा बाटो सम्म फिजाएका यस्तै पसलहरु देखिन्थे बजारभरी । मेरो लागि यो नौलो बजार रमाइलो नै थियो । दिनको दुई बजे गाडी फर्कने भएछ । गाडीको भाइले खवर गर्यो । म झोला टिपेर गाडिमा बसें । उस्ले आफ्नो गति बढायो । म झोराहाटको मान्छे थिएँ र बागलुङको गलकोट बजार घुमेर फर्कदै थिएँ ।

भोलि पल्ट बिहान म पोखराको लागि निस्किएँ । पहिले त म बागलुङमा रहेको लालचन्द राजभण्डारीको पुस्तक पसल गएँ । बि पि कोइरालाको मोदि आइन उपन्यास लिएँ । त्यसपछी बसपार्क गाडीको टिकट लिए । गाडी गण्डकीको किनारै किनारको बाटो भएर पोखरा तिर हुँइकियो । नागबेली बाटोमा घरी उकालो चड्दै घरी ओरालो झर्दै साँझमा पोखरा आइपुग्यो । गाडीबाट ओर्लिएर कवि प्रकट पंगेनीलाई फोन गरें । उनले महेन्द्र पुल दक्षिणको एक कवि कुनामा भेटौं भने । म सरासर त्यही गएँ । उनी अघिनै आएका रहेछन । हामी रातको ११ बजे सम्म कविता र गजलको चर्चा गरेर बस्यौं । यसरी पोखराबाट बागलुङ , बागलुङबाट गलकोट र फेरि पोखरा आएर त्यो यात्राले बिश्राम पायो ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *