सिड्नीमा पहिलोपटक आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्डको तयारी सुरु
सिड्नी, अस्ट्रेलिया | ग्लोबल नेपाली फिल्म अवार्ड (GNFA) को नवौं संस्करण आगामी १७ डिसेम्बर २०२६ मा पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। कार्यक्रमको तयारीलाई औपचारिकता दिन नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका संस्थापक अरुण श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता कार्यक्रममा भर्चुअल माध्यमबाट सहभागी नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अवार्डलाई पहिलोपटक अमेरिकाबाहिर आयोजना गर्न लागिएको उल्लेख गर्दै यसले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सबै साझेदारको भूमिकाको प्रशंसा गरेका थिए।
सन् २०१८ देखि अमेरिकामा निरन्तर आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, सर्जक तथा सञ्चारकर्मीको योगदानलाई सम्मान गर्दै आएको छ। आयोजकका अनुसार सिड्नीमा हुन लागेको नवौं संस्करणले विश्वभर फैलिएका नेपाली समुदाय र नेपाली चलचित्र उद्योगबीचको सम्बन्धलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।
आयोजकहरूले अस्ट्रेलियामा रहेको ठूलो नेपाली समुदाय, यहाँको सक्रिय सांस्कृतिक वातावरण तथा नेपाल–अस्ट्रेलियाबीच बढ्दो सांस्कृतिक सहकार्यलाई मध्यनजर गर्दै यस वर्षको संस्करण सिड्नीमा आयोजना गर्ने निर्णय गरिएको बताएका छन्।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाले कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सम्पूर्ण साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा विश्वभर रहेका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै आगामी १७ डिसेम्बर २०२६ मा आयोजना हुने समारोहमा सहभागी हुन सबैलाई निमन्त्रणा दिएका छन्।
सम्झौता कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष दिनेश पोखरेल, एनआरएनए एनएसडब्लु संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका निर्देशक रुपेश भट्टराई, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार विजय सापकोटा, हेमन लामिछाने, नवराज तिमल्सिना, सबला बस्नेत, विष्णु हमाल, रञ्जित शाह, महेन्द्र लम्साल, भूपाल सिटौला, हेमन्त काफ्ले, राकेश जोशीलगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्रोत: आयोजक अरुण श्रेष्ठ
तथा रातोपाटी डट कम
