नेपाल विशेष आजको-२९ डिसेम्बर २०२५ अपडेट
KNA Canberra
मिति २९ डिसेम्बर २०२५
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको रमेश लेखकको दाबी
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली प्रहार गर्न वा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन् । जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले पदीय मर्यादा र नैतिकताको आधारमा राजीनामा दिएको स्पष्ट पारे ।
अशोक राई समूहका नेताहरू जसपा नेपालमा पुनः फर्किए
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जनता समाजवादी पार्टी (जसपा) नेपालमा फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरू पार्टीमा पुनः समाहित भएको जानकारी नेता प्रदीप यादवले दिए ।
पार्टीमा फर्किएका रेणु, प्रदीपलगायत नेताहरूलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता भएको औपचारिक जानकारी दिएका छन् ।
यसअघि राजेन्द्र श्रेष्ठलगायत केही नेताहरूले अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए ।
( Source: Kendrabhag.com)
नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (Ka)’ जारी गर्ने भएको छ । ऋणपत्रको बोलकबोल २०८२ पुस १५ गते अनलाइन प्रणालीमार्फत हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ भने सावाँ भुक्तानी २०८३ पुस १५ गते र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।
समानुपातिक बन्दसूची बुझाउने तयारीमा दलहरू व्यस्त
काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारीमा दलहरू व्यस्त
छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन हो ।
दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची अन्तिम रूप दिन व्यस्त रहेका छन् ।
इन्जिन सट्टापट्टाका लागि नेवानिको न्यारो बडी जहाज इजरायल प्रस्थान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को एक थान न्यारो बडी जहाज इन्जिन सट्टापट्टा गर्न इजरायल पठाइँदैछ । निगम र इजरायलस्थित आईएमआईबीच रहेको ‘मेन्टिनेन्स विथ लिज सपोर्ट’ सम्झौताअन्तर्गत वार्तामार्फत सहमति जुटेपछि जहाज इजरायल पठाउने तयारी भएको हो ।
नेवानिको ए३२०–२०० सिरिजको जहाज आज इजरायल पुग्ने कार्यक्रम छ । इन्जिन सट्टापट्टा तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरीको दोस्रो साता जहाज काठमाडौं फर्कने निगमले जनाएको छ । (Source: OnlineKhaber.com)
