प्रचण्डको सचिवालयद्वारा रवि लामिछानेसँग चुनावी तालमेलको समाचार खण्डन
KNA Canberra
काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखिएको भन्ने समाचारको खण्डन गरेको छ।
केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार असत्य रहेको भन्दै सचिवालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
“केही अनलाइन सञ्चारमाध्यमले आज नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुटा समाचार प्रकाशित गरेका छन्। उक्त समाचार पूर्णतः असत्य हो।”
विज्ञप्तिमा थप स्पष्ट पारिएको छ कि चुनावी सहकार्यका विषयमा पार्टीका तर्फबाट संयोजक प्रचण्ड वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गरेका छैनन्। साथै, यस विषयमा रास्वपाको तर्फबाट पनि कुनै संवाद नभएको सचिवालयले जनाएको छ।
सचिवालयले यस्ता असत्य र पुष्टि बिना एकपक्षीय ढंगले प्रकाशित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।
“यसप्रकारका झुटा तथा अपुष्ट समाचारप्रति सचेत रहन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।
