वरिष्ठ साहित्यकार तथा गीतकार “गण्डकी पुत्र” द्वारा रचित सिर्जना – “हामीसङ्गै छ हाम्रो पहिचान”
हामीसङ्गै छ हाम्रो पहिचान
– गण्डकीपुत्र
पेन्सल्भेनिया अमेरिका
छोड्नु पर्यो देश
छोड्नु पर्यो हामीले सन्तानलाई झै
माया गरेर हुर्काएका
सुन्तला र अलैचिका बोटहरु
हाम्रा सुखदुःखका साथीजस्ता
गोठमा बाधिएका गाई बस्तु छोडिए
छोडियो मुटुकै टुक्रा जस्ता
धान फल्ने खेत
पानी भर्ने पधेरो
र सन्तमान साहुको पान पसल ।
त्यसरी नै छोडियो हाट बजार गर्न
सधै बोकि हिड्ने नाम्ला र डोकाहरु
ठेकी छुट्यो , मदानी छुट्यो
बर्षै पिच्छे बनाई रहनु पर्ने कुलाको
टारी खेतमा बग्ने पानी छुट्यो
आमाले दुना टपरी गांस्न
पात टिप्ने सालका पोथ्राहरु
आलि ताछ्ने कोदालो
र पर्मजादाँ ओड्ने घुम छुट्यो ।
छोडिए पनि सबै कुरा
छोडिएन आफ्नो पहिचान
आफ्नो जातीको गौरब गाथा
छोडिएन पुर्खाले लडेको बिरताको कथा
अहिले हामीसङ्गै छन
दशैको मेला र तिहारको देउसी
हामी सङ्गै छन सिलि र साकेलाहरु
रोदिको मादल र ह्लोसारको गित ,
हामी सङ्गै छन
हामिले पुज्दैआएका देबि देउता
गायन्त्री मन्त्र , मुन्धुम र पालमहरु
आमाको माया हामीसङ्गै छ
बाबाको भरोसा हामी सङ्गै छ
साथीको साथ र मायालुको हात
हामी सङ्गै छ !
छोड्दा खेरी जन्मिएको माटोमा
अलिकती माया छोडियो
खसेका दुइथोपा आँसु
भक्कानिएको उच्छ्वास छोडियो
पुर्खालाई बिसाएको
घाट छोडियो
त्यो चिहान घारी र पाखो वारि छोडियो
नानीहरुको खेल्ने आगन
सुन्तलाका बगान
आफैले बनाएको
सडक र बाटो छोडियो
अरु त सग्लै लिएर आएका छौ
काधको जनै , चन्डीको च्याब्रुङ
बुद्धको मानेपेमे हुँम
गिताका पबित्र रिचाहरु
श्रम गर्ने हात र माया गर्ने मन ।
छुटेका छन केही आफन्त
भेट्नु छ एकदिन
भत्कने छ निशेध गर्न लगाइएको पर्खाल
उभिने छ न्यायको झण्डा
च्यातिने छ हामी लाई लखेट्ने कानुन
जलाइने छ देश छोड्न बाध्य बनाउने न्याय
फर्कने छौ आ-आफ्नो घर
जो जहाँबाट आएको होस
चुम्ने छौं आफू जन्मिएको माटो
हेर्ने छौं आफू जन्मिदा हेरेको आकाश
फेरि बाँच्ने छौं
अग्रजले झै निर्धक्क जीवन
रोक्ने तागत हुने छैन
ढुङ्गाजस्ता चिसा बन्दुकहरुमा
निर्वाध पस्ने छौ आफ्नो देश ।
यत्ती हो , अहिले हामी यहिबाट
एकोहोरो संम्झिरहेकाछौं देश !

