सनातन समाज अस्ट्रेलिया (क्यानबेरा) द्वारा धन्यवाद ज्ञापन तथा सामूहिक डिनर कार्यक्रम सम्पन्न

क्यानबेरा, अस्ट्रेलिया — सनातन समाज अस्ट्रेलिया (क्यानबेरा) ले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरेको भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि धन्यवाद ज्ञापन तथा सामूहिक डिनर कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम क्यानबेरास्थित Root & Spice को हलमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा आयोजक, प्रायोजक, स्पोन्सर, स्वयंसेवक (भोलिन्टियर्स) तथा विभिन्न सामुदायिक संस्था र व्यवसायिक प्रतिनिधिहरूलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रम सनातन समाज अस्ट्रेलिया (क्यानबेरा) का एक्टिङ सचिव निशान्त नेपाल ले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष तथा सनातन समाज अस्ट्रेलियाका अध्यक्ष श्री सन्तोष मल्ल ले स्वागत मन्तव्य राख्दै नयाँ वर्ष २०८३ को कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले क्यानबेरामा निर्माण हुन लागेको पशुपतिनाथ मन्दिर तथा कम्युनिटी हल परियोजनामा सम्पूर्ण नेपाली समुदायको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै यसलाई नेपाली पहिचान र आस्थाको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरू  कृष्ण हमाल, राजकुमार केसी, आदर्श जंग पाण्डे लगायतले नेपालको कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताए। उनीहरूले विदेशमा बसोबास गर्दै गर्दा आफ्ना मौलिक परम्परा र मूल्यहरूलाई जोगाइराख्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

यस अवसरमा वक्ताहरूले क्यानबेरामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई न्यूनतम शुल्कमा संस्थाको सदस्यता लिन आग्रह गर्दै यसले सामुदायिक परियोजनाहरू, विशेषगरी मन्दिर तथा कम्युनिटी हल निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सदस्यता विस्तारसँगै संस्थाले भविष्यमा थप सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने योजना समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा नेपाली परिकारसहितको सामूहिक डिनरको व्यवस्था गरिएको थियो, जसले सहभागीहरूबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुर्‍याएको देखिन्थ्यो। सहभागीहरूले कार्यक्रमलाई अत्यन्त सफल, व्यवस्थित र समुदायलाई एकताबद्ध बनाउने महत्वपूर्ण अवसरका रूपमा मूल्याङ्कन गरेका थिए।

कार्यक्रम उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *