विश्वव्यापी संगठित अपराध सञ्जालमाथि अपरेशनमा: चार देशमा १५ जना पक्राउ
उमेश ढकाल
क्यानबेरा अस्ट्रेलिया
युरोप, एसिया र अष्ट्रेलियासम्म फैलिएको संगठित अपराध सञ्जालमाथि गरिएको ठूलो अन्तर्राष्ट्रिय कारबाहीमा अष्ट्रेलिया, स्पेन, स्विडेन र थाइल्याण्डमा कुल १५ जना पक्राउ परेका छन्।
“अपरेशन क्यान्डी” नाम दिइएको यो अनुसन्धान स्विडेनको Swedish Police Authority को नेतृत्वमा नोभेम्बर २०२३ मा सुरु भएको थियो। स्विडेनको एक सानो शहरमा संदिग्ध लागूऔषध तस्करबाट बरामद गरिएको दुई मोबाइल फोनको फरेन्सिक परीक्षणपछि यो बहुराष्ट्रिय अपराध सञ्जालको खुलासा भएको हो।
मोबाइल उपकरणहरूमा भेटिएका एन्क्रिप्टेड सन्देश, अन्तर्राष्ट्रिय सम्पर्क र आर्थिक कारोबारका विवरणहरूले ठूलो स्तरको लागूऔषध तस्करी र मनी लन्डरिङमा संलग्न विभिन्न अपराध समूहहरूबीचको सम्बन्ध उजागर गरेको थियो। अनुसन्धानमा Europol का विशेषज्ञहरूले पनि महत्वपूर्ण सहयोग गरेका थिए।
विभिन्न देशमा फैलिएको अपराध गतिविधि
अनुसन्धानका क्रममा अपराध सञ्जालले विभिन्न देशमा सञ्चालन गरिरहेका गतिविधिहरू फैलाइ रहेको छन्।
स्विडेनमा अपराध गतिविधि सञ्जालका सदस्यहरूले घरेलु स्तरमा लागूऔषध वितरण सञ्चालन गर्नुका साथै समानान्तर रूपमा मनी लन्डरिङ प्रणाली पनि चलाइरहेको आरोप छ। थाइल्याण्डबाट नर्डिक क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै ठूलो अनलाइन लागूऔषध बिक्री नेटवर्क सञ्चालन गरिएको बताइएको छ।
यसैबीच जर्मनीमा अष्ट्रेलिया पठाउन लागिएको १.२ टन अवैध लागूऔषध बरामद गरिएको थियो। स्पेनमा भने ठूलो स्तरको लागूऔषध तस्करीलाई सहजीकरण गर्ने एक प्रमुख व्यक्तिलाई अनुसन्धानको केन्द्रमा राखिएको थियो।
४ मार्च २०२६ मा स्पेन, स्विडेन र थाइल्याण्डमा करिब २० स्थानमा एकै समयमा छापा मारिएको थियो।
कारबाहीका क्रममा:
- १३ जना विदेशमा पक्राउअपराध सञ्जालका मुख्य व्यक्तिहरू लक्षित
करिब ४ मिलियन युरो मूल्य बराबरका सम्पत्ति (नगद, घडी, गहना, सवारी साधन र याट) बरामद
अष्ट्रेलियामा अनुसन्धान
अष्ट्रेलियामा सन् २०२५ मा गरिएको कारबाहीसँग जोड्दा कुल १५ जना पक्राउ भएका छन्।
अष्ट्रेलियामा यो अनुसन्धान Victorian Joint Organised Crime Taskforce ले सञ्चालन गरेको थियो, जसमा Australian Federal Police, Victoria Police र Australian Border Force सहभागी थिए। अनुसन्धान जर्मन भन्सारबाट प्राप्त सूचनापछि सुरु भएको थियो, जहाँ सडक निर्माण सामग्री भनेर transport गरिएको दुई शिपिङ कन्टेनरभित्र जाँचबुझ गर्दा १.२ टन अवैध लागूऔषध फेला पारिएको थियो। जर्मन अधिकारीहरूले लागूऔषध हटाएर कन्टेनर अष्ट्रेलिया पठाउन दिएका थिए। कन्टेनर Port of Melbourne पुगेपछि अष्ट्रेलियाली प्रहरीले त्यसमा निष्क्रिय पदार्थ राखेर निगरानीसहित डेलिभरी हुन दिएको थियो। सामान अन्ततः मेलबर्नको Sunshine, Melbourne क्षेत्रमा रहेको कारखानामा पुर्याइएपछि ३२ र ५२ वर्षका दुई जना पुरुष पक्राउ परेका थिए। उनीहरूविरुद्ध लागूऔषध आयात प्रयाससम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन छ।
अन्तर्राष्ट्रिय सहकार्यको महत्व
अधिकारीहरूका अनुसार यो अपरेशनले सीमाना नमान्ने अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्ध विश्वव्यापी सहकार्य कति प्रभावकारी हुन्छ भन्ने देखाएको छ। Eurojust का अनुसार विभिन्न देशका अभियोजक र अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा कानुनी रणनीति बनाउँदै अपराध सञ्जाललाई ध्वस्त पार्ने प्रयास गरेका छन्। प्रविधि, अन्तर्राष्ट्रिय सीमा वा जटिल आर्थिक संरचनाको आडमा अपराध लुकाउन खोजे पनि अन्तर्राष्ट्रिय सहकार्यले अन्ततः त्यस्ता सञ्जालहरूलाई उजागर गर्नेछ; अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
Source : AFP/Media
