चितवन सिड्नी बोइजद्वारा एनआरएनए सहित नेपाली समुदायलाई आग्रह- विद्यार्थीहरुको कल्याणको लागि
चितवन सिड्नी बोइजद्वारा अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको कल्याणको लागि तत्काल कदम चाल्न र कार्यक्रम ल्याउन एनआरएनए सहित नेपाली समुदायलाई आग्रह
सिड्नी, १३ सेप्टेम्बर २०२५ – अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरू शैक्षिक चुनौती मात्र होइन, सामाजिक र व्यक्तिगत समस्यामा समेत परिरहेका छन्। यसै सन्दर्भमा चितवन सिड्नी बोइज नामक नेपाली समुदाय संगठनले विद्यार्थीको हितका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै विभिन्न नेपाली समुदायलाई कदम चाल्नको लागि विज्ञप्ति जारी गरेको छ।
संगठनका अनुसार जुवा, लागूपदार्थ दुरुपयोग, ठगी, अनलाइन फ्रड, मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा नयाँ विद्यार्थीहरूका लागि उचित मार्गदर्शन अभावजस्ता चुनौतीहरू गम्भीर बन्दै गएका छन्। यी समस्याले विद्यार्थीहरूको भविष्य मात्र होइन, सम्पूर्ण नेपाली समुदायकै चिन्ता बढाएको छ।
“विद्यार्थीहरूको हितका लागि नेतृत्व विद्यार्थी नेपाली समुदायकै भित्रैबाट आउनुपर्छ—उनीहरू जसले अध्ययन गर्छन्, काम गर्छन् र दैनिक संघर्ष भोग्छन्। अब एकता, जागरण र वास्तविक कार्यको समय आएको छ,” विज्ञप्तिमा उल्लेख छ।
चितवन सिड्नी बोइजले विद्यार्थी कल्याणका लागि चार प्रमुख माग अघि सारेको छः
१. विद्यार्थी संकट हेल्पलाइन – २४/७ तत्काल सहयोग प्रणाली र आपतकालीन प्रतिक्रिया टोली स्थापना।
२. मानसिक स्वास्थ्य र रोजगारी सहयोग – नियमित मानसिक स्वास्थ्य सत्र, बायोडाटा लेखन, रोजगारी खोज्ने तालिम र भर्चुअल वर्कशप सञ्चालन।
३. नयाँ विद्यार्थीहरूका लागि ओरिएन्टेसन कार्यक्रम – अधिकार, जोखिम र अवसरबारे जानकारीसहितको आगमन मार्गदर्शन पुस्तिका वितरण।
४. जुवा र लागूपदार्थविरुद्ध सचेतना अभियान – देशव्यापी रुपमा प्रत्येक १५ दिनमा विद्यार्थी लक्षित अभियान सञ्चालन।
संगठनका अध्यक्ष निशान पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा यो माग कुनै समूह वा नेतृत्व विरुद्धको प्रतिस्पर्धा नभई “हजारौं नेपाली विद्यार्थीहरूको पीडाको आवाज” भएको उल्लेख गरिएको छ।
चितवन सिड्नी बोइजले सम्पूर्ण नेपाली समुदाय, सम्बन्धित संस्था तथा अष्ट्रेलियन निकायलाई विद्यार्थीहरूको भविष्य सुरक्षित बनाउन तत्काल कदम चाल्न आग्रह गरेको छ।

