अमेरिकास्थित Unity for Autism बाट नेपालका अटिजम बालबालिकाका लागि आर्थिक सहयोग- SSDRC
अमेरिकामा स्थापित Unity for Autism ले नेपालमा अटिजम भएका बालबालिकाहरूको शिक्षा, थेरापी तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ४ हजार अमेरिकी डलर (नेपाली रुपैयाँ ६ लाख ३ हजार ७२७ रुपैयाँ ५० पैसा) आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकम १८ अप्रिल २०२६ मा अमेरिकामा आयोजना गरिएको च्यारिटी डिनर कार्यक्रममार्फत संकलन गरिएको हो। कार्यक्रममा विभिन्न समाजसेवी, परोपकारी तथा नेपाली समुदायका व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।
प्राप्त सहयोग रकम Special School and Rehabilitation Center (SSDRC) लाई भवन निर्माण, अटिजम भएका बालबालिकाहरूका लागि आवश्यक शैक्षिक सामग्री, थेरापी उपकरण तथा पुनर्स्थापना सेवाहरू थप प्रभावकारी बनाउन हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा अटिजम भएका बालबालिकाहरूको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा Special School and Rehabilitation Center (SSDRC) संस्थाकी अध्यक्ष Sabita Upreti ले सहयोग रकम ग्रहण गर्दै आयोजक संस्था, दातृ व्यक्तित्वहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष- अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता अन्तर्राष्ट्रिय सहयोगले नेपालमा विशेष आवश्यकता भएका बालबालिकाहरूको शिक्षा, उपचार तथा पुनर्स्थापनामा ठूलो सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रमलाई सफल बनाउन Sushma Shrestha नेतृत्वको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। आयोजक संस्थाले कार्यक्रममा सहभागी सम्पूर्ण समाजसेवी, परोपकारी तथा सहयोगी व्यक्तित्वहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि अटिजम भएका बालबालिकाहरूका लागि यस्ता सहयोगात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।
नेपालमा अटिजम भएका बालबालिकाहरूको शिक्षा र पुनर्स्थापनाका क्षेत्रमा अन्तर्राष्ट्रिय नेपाली समुदायबाट प्राप्त यस्तो सहयोगले सामाजिक समावेशिता, विशेष शिक्षा तथा बाल अधिकार प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
Source :SSDRC Jadibuti, Narephat, Kathamandu / Media Post
