अष्ट्रेलियाको कडा खाद्य सुरक्षा प्रणालीबीच अघोषित एलर्जीजन किन दोहोरिन्छन्?

खाद्य अनुसन्धान वैज्ञानिक डा. याकिन्द्र प्रसाद तिमिल्सेनासँग मेलबर्न विश्वविद्यालयका विद्यार्थी पत्रकारहरूले गरेको कुराकानीमा आधारित सामग्री नेपाली भाषामा अनुवाद तथा सम्पादन गरी प्रकाशित गरिएको हो।

स्पष्ट लेबलिङ प्रणाली हुँदाहुँदै पनि आपूर्ति शृङ्खलामा हुने सूचना त्रुटि, गलत प्याकेजिङ, क्रस–दूषण र प्रक्रियागत कमजोरीले खाद्य एलर्जी भएका उपभोक्तालाई जोखिममा पार्न सक्छ।

अष्ट्रेलियाको खाद्य सुरक्षा प्रणाली तुलनात्मक रूपमा कडा नियमन, वैज्ञानिक मापदण्ड र नियामक निगरानीमा आधारित छ। खाद्य मापदण्डदेखि निरीक्षण, आपूर्ति शृङ्खलाको व्यवस्थापन र जोखिमयुक्त उत्पादन बजारबाट फिर्ता बोलाउने प्रणालीसम्मका विभिन्न संयन्त्रले उपभोक्ताको सुरक्षा गर्ने उद्देश्य राख्छन्।तर कडा नियम हुनु मात्र पर्याप्त हुँदैन।

खाद्य उत्पादन बजारमा पुग्नुअघि लामो र जटिल यात्राबाट गुज्रिन्छ, कच्चा पदार्थको उत्पादन र आपूर्तिदेखि प्रशोधन, प्याकेजिङ, वितरण, खुद्रा बिक्री र पछिल्लो समय अनलाइन कारोबारसम्म। यस यात्राको कुनै पनि चरणमा सूचना हराएमा, सामग्री परिवर्तनबारे जानकारी नदिएमा, गलत प्याकेजिङ प्रयोग भएमा वा उत्पादन प्रक्रियामा एलर्जी गराउने पदार्थ अनजानमै मिसिएमा अन्तिम उपभोक्ता जोखिममा पर्न सक्छ। यही कारणले अष्ट्रेलियामा undeclared allergens अर्थात् खानामा रहेका भए पनि लेबलमा उल्लेख नगरिएका एलर्जी गराउने पदार्थ अझै पनि खाद्य सुरक्षाको महत्वपूर्ण चुनौती बनेका छन्।

Food Standards Australia New Zealand (FSANZ) का अनुसार 2021 देखि 2025 सम्म अघोषित एलर्जीजनका कारण 197 वटा खाद्य recall भएका थिए। 2025 मा मात्रै 92 वटा खाद्य recall मध्ये 35 वटा, अर्थात् 38 प्रतिशत, अघोषित एलर्जीजनका कारण भएका थिए। सो अवधिमा प्याकेजिङसम्बन्धी त्रुटि, आकस्मिक क्रस–दूषण र आपूर्तिकर्ताले सामग्री परिवर्तनबारे जानकारी नदिनु प्रमुख कारणमध्ये थिए। खाद्य अनुसन्धान वैज्ञानिक डा. याकिन्द्र प्रसाद तिमिल्सेनासँग गरिएको कुराकानीले देखाउँछ—समस्या केवल एउटा गलत लेबलमा सीमित हुँदैन। यसको जड खाद्य उत्पादनको सम्पूर्ण आपूर्ति शृङ्खलामा फैलिएको हुन सक्छ।

समस्या लेबल छापिँदा मात्र सुरु हुँदैन

खाद्य एलर्जीसम्बन्धी समस्या देखिँदा पहिलो ध्यान प्रायः प्याकेजको लेबलतर्फ जान्छ। तर लेबलमा देखिएको त्रुटि धेरैपटक लेबल छाप्ने समयमा सुरु भएको हुँदैन। उदाहरणका लागि, कुनै आपूर्तिकर्ताले कच्चा पदार्थ वा सामग्रीको संरचना परिवर्तन गर्न सक्छ। तर उक्त परिवर्तनबारे निर्माता वा सम्बन्धित खाद्य व्यवसायलाई समयमै जानकारी नदिन सक्छ। त्यस अवस्थामा निर्माता पुरानै फर्मुलेशन र पुरानै एलर्जी घोषणाका आधारमा उत्पादन जारी राख्न सक्छ। अर्को अवस्थामा सही उत्पादन भए पनि गलत प्याकेजिङ प्रयोग हुन सक्छ। फरक उत्पादनका लागि तयार गरिएको प्याकेटमा अर्को उत्पादन भरिँदा प्याकेजमा उल्लेख गरिएको एलर्जीसम्बन्धी जानकारी वास्तविक उत्पादनसँग नमिल्न सक्छ। त्यसैगरी, एउटै उत्पादन लाइनमा विभिन्न खाद्य पदार्थ उत्पादन गर्दा पर्याप्त सफाइ वा पृथकीकरण नभए एउटा खाद्यमा रहेको एलर्जी गराउने पदार्थ अर्को खाद्यमा अनजानमै पुग्न सक्छ। यसलाई cross-contamination वा cross-contact भनिन्छ।

FSANZ ले 2021–2025 का अघोषित एलर्जीजनसम्बन्धी recall विश्लेषणमा packaging errors, accidental cross-contamination, allergen labelling knowledge, label errors र supplier verification issues लगायतका कारण पहिचान गरेको छ।

डा. तिमिल्सेनका अनुसार आपूर्तिकर्ताले सामग्री वा फर्मुलेशन परिवर्तन गरेपछि त्यसको जानकारी सम्बन्धित व्यक्ति वा खाद्य व्यवसायसम्म नपुगेमा समस्या उत्पन्न हुन सक्छ। यसले एउटा महत्वपूर्ण तथ्य देखाउँछ—खाद्य सुरक्षामा अन्तिम उत्पादनको निरीक्षण मात्र पर्याप्त हुँदैन; सही सूचना, सुरुदेखि अन्त्यसम्म निरन्तर प्रवाह हुनु आवश्यक हुन्छ।

अघोषित एलर्जीजन किन गम्भीर विषय हो?

खाद्य एलर्जी भएका व्यक्तिका लागि गलत वा अपूर्ण लेबल सामान्य प्याकेजिङ त्रुटि मात्र होइन। केही खाद्य पदार्थ वा सामग्रीले संवेदनशील व्यक्तिमा गम्भीर एलर्जी प्रतिक्रिया निम्त्याउन सक्छ। यस्तो प्रतिक्रिया anaphylaxis सम्म पुग्न सक्छ, जुन जीवन जोखिममा पार्न सक्ने आपत्कालीन अवस्था हो। FSANZ ले खाद्य एलर्जीका कारण गम्भीर प्रतिक्रिया हुन सक्ने भएकाले सम्बन्धित एलर्जी गराउने पदार्थलाई लेबलमा घोषणा गर्नु खाद्य मापदण्डको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।त्यसैले कुनै उत्पादनमा एलर्जी गराउने सामग्री उपस्थित भए पनि लेबलमा उल्लेख नभएमा उपभोक्ताले आफ्नो स्वास्थ्य सुरक्षाका लागि गरेको लेबलमा निर्भरता नै असफल हुन सक्छ। यही कारणले अघोषित एलर्जीजनसम्बन्धी घटना केवल labelling issue होइन। यो food safety, supply-chain management, traceability, staff training र risk management सबैसँग जोडिएको विषय हो।

स्पष्ट लेबलका लागि अष्ट्रेलियाको ठूलो सुधार

अष्ट्रेलिया र न्युजिल्यान्डले खाद्य एलर्जीसम्बन्धी जानकारी उपभोक्ताका लागि अझ स्पष्ट बनाउन Plain English Allergen Labelling (PEAL) लागू गरेका छन्। नयाँ आवश्यकताहरू 25 February 2024 देखि अनिवार्य भएका हुन्। यसको उद्देश्य एलर्जीसम्बन्धी जानकारीलाई सजिलै देखिने, बुझ्न सकिने र एकरूप बनाउनु हो। निश्चित एलर्जीहरूका लागि सरल अंग्रेजी नाम प्रयोग गर्नुपर्ने तथा सामग्रीको सूचीमा एलर्जीसम्बन्धी जानकारी बोल्ड अक्षरमा स्पष्ट रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ। उदाहरणका लागि, प्राविधिक शब्दावलीका कारण उपभोक्ता अन्योलमा पर्न सक्ने अवस्थालाई कम गर्न milk, wheat वा sesame जस्ता स्पष्ट नाम प्रयोग गरिन्छ। FSANZ का अनुसार PEAL को उद्देश्य खाद्य लेबलमा एलर्जीसम्बन्धी जानकारी पहिचान गर्न र बुझ्न सजिलो बनाउनु हो।

स्पष्ट लेबल हुनु र सही लेबल हुनु एउटै कुरा होइन।

यदि उत्पादनको फर्मुलेशन परिवर्तन भएको जानकारी नै निर्मातासम्म पुगेन भने राम्रो लेबलिङ प्रणालीले पनि सही जानकारी उत्पादन गर्न सक्दैन। त्यसैगरी, गलत प्याकेजिङ, क्रस–दूषण वा उत्पादन प्रक्रियामा भएको त्रुटिलाई केवल राम्रो डिजाइन गरिएको लेबलले रोक्न सक्दैन। त्यसैले PEAL महत्वपूर्ण सुधार भए पनि यो खाद्य सुरक्षा समस्याको सम्पूर्ण समाधान होइन।

आपूर्ति शृङ्खलामा हराएको एउटा सूचना

आधुनिक खाद्य उद्योगमा एउटा उत्पादनको जिम्मेवारी एउटै कम्पनीमा मात्र सीमित हुँदैन। कच्चा पदार्थ उत्पादन गर्ने किसान वा कम्पनीदेखि आपूर्तिकर्ता, खाद्य निर्माता, प्याकेजिङ प्रदायक, वितरक, थोक बिक्रेता, सुपरमार्केट र अनलाइन विक्रेतासम्म धेरै पक्ष संलग्न हुन सक्छन्। कुनै एउटा चरणमा भएको सूचना त्रुटि अर्को चरणमा दोहोरिँदै जाँदा अन्ततः उपभोक्तासम्म पुग्न सक्छ। उदाहरणका लागि, आपूर्तिकर्ताले नयाँ सामग्री प्रयोग गर्न थाल्यो तर त्यसको एलर्जी प्रोफाइल परिवर्तन भएको जानकारी निर्मातालाई दिएन भने पुरानो रेसिपी, पुरानो लेबल वा पुरानो प्याकेजिङ प्रयोग भइरहन सक्छ। FSANZ ले supplier verification issues लाई अघोषित एलर्जीजनका recall को पहिचान गरिएको प्रमुख कारणमध्ये राखेको छ। यसमा आपूर्तिकर्ताले गरेको ingredient change निर्माता वा खाद्य व्यवसायलाई जानकारी नगराउने अवस्था पनि पर्छ। त्यसैले खाद्य व्यवसायका लागि आपूर्तिकर्ताको छनोट मात्र पर्याप्त हुँदैन। उनीहरूको खाद्य सुरक्षा प्रणाली, सामग्रीको स्थिरता र परिवर्तनसम्बन्धी सूचना दिने प्रक्रिया पनि प्रभावकारी हुनुपर्छ।

एक प्रभावकारी खाद्य सुरक्षा प्रणालीमा “के परिवर्तन भयो?” भन्दा पनि “परिवर्तन कसलाई, कहिले र कसरी जानकारी गराइयो?” भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण हुन्छ।

कर्मचारी तालिमः सानो लगानी, ठूलो सुरक्षा

खाद्य सुरक्षा प्रणालीको अर्को महत्वपूर्ण आधार कर्मचारी हुन्। कर्मचारीले उत्पादन प्रक्रिया, सरसफाइ र सामान्य खाद्य ह्यान्डलिङ मात्र होइन, एलर्जीसम्बन्धी जोखिम पनि बुझ्न आवश्यक हुन्छ।

  • कुन सामग्रीले एलर्जी गराउन सक्छ?
  • कुन उत्पादन लाइनमा त्यस्तो सामग्री प्रयोग हुन्छ?
  • उत्पादन परिवर्तन गर्दा सफाइ कसरी गर्ने?
  • गलत प्याकेजिङ भेटिएमा के गर्ने?
  • कच्चा पदार्थ परिवर्तन हुँदा कसलाई जानकारी दिने?

यी प्रश्नको उत्तर कर्मचारीलाई व्यवहारमै थाहा हुनुपर्छ।

डा. तिमिल्सेनका अनुसार खाद्य सुरक्षासम्बन्धी तालिममा भौतिक, रासायनिक, सूक्ष्मजीवजन्य तथा एलर्जीसम्बन्धी जोखिमलाई समान रूपमा बुझाउन आवश्यक हुन्छ। विशेषगरी एलर्जीसम्बन्धी क्रस–दूषणलाई केवल सैद्धान्तिक विषयका रूपमा होइन, दैनिक उत्पादन प्रक्रियासँग जोडेर बुझाउनुपर्ने हुन्छ। FSANZ का अनुसार 2021–2025 का recall पछि खाद्य व्यवसायहरूले अपनाएका सबैभन्दा सामान्य corrective actions मध्ये staff training 18 प्रतिशत, amended handling procedures 13 प्रतिशत र product labels परिवर्तन 13 प्रतिशत थिए। 78 प्रतिशत व्यवसायले एकभन्दा बढी corrective action अपनाएको रिपोर्ट गरेका थिए। यसले देखाउँछ कि recall भएपछि समस्या समाधान गर्न एउटा मात्र उपाय पर्याप्त नहुन सक्छ।

बहुसांस्कृतिक खाद्य बजारले थप जटिलता ल्याउँछ

अष्ट्रेलियाको खाद्य बजार अत्यन्त बहुसांस्कृतिक छ। विश्वका विभिन्न देशबाट खाद्य पदार्थ, कच्चा सामग्री र परम्परागत परिकार आयात तथा बिक्री हुन्छन्। यसले उपभोक्ताका लागि विकल्प बढाएको छ। तर खाद्य सुरक्षा र लेबलिङका दृष्टिले यसले थप जटिलता पनि सिर्जना गर्न सक्छ। विभिन्न देशमा सामग्रीका नाम, उत्पादन प्रक्रिया, प्याकेजिङ अभ्यास र लेबलिङका नियम फरक हुन सक्छन्। आयातित खाद्य पदार्थले अष्ट्रेलियामा लागू हुने खाद्य सुरक्षा तथा लेबलिङ आवश्यकताहरू पूरा गर्नुपर्छ। तर आपूर्ति शृङ्खलाको प्रारम्भिक चरणमा भएको गल्ती पछि अष्ट्रेलियाली बजारसम्म आइपुग्न सक्छ। दक्षिण एसियाली खाद्य पदार्थको उदाहरण लिँदा तोरी, तिल, गहुँ तथा अन्य सामग्री विभिन्न परम्परागत परिकारमा प्रयोग हुन्छन्। केही उपभोक्ताका लागि यिनै सामग्री एलर्जीको कारण बन्न सक्छन्। यही कारणले traceability—उत्पादन कहाँबाट आयो, कुन सामग्री प्रयोग भयो र उत्पादनका विभिन्न चरणमा के परिवर्तन भयो भन्ने पत्ता लगाउने क्षमता—आधुनिक खाद्य सुरक्षाको महत्वपूर्ण आधार हो।

अनलाइन खाद्य किनमेलः नयाँ चुनौती

खाना किनमेल गर्ने उपभोक्ताको व्यवहार पनि परिवर्तन भइरहेको छ। परम्परागत सुपरमार्केटमा उपभोक्ताले उत्पादन हातमा लिएर प्याकेजको अगाडि–पछाडि हेर्न सक्छ। सामग्रीको सूची, एलर्जी घोषणा र अन्य जानकारी पढ्न सक्छ। तर अनलाइन खरिदमा उपभोक्ता डिजिटल स्क्रिनमा उपलब्ध जानकारीमा निर्भर हुन्छ। FSANZ को 2025 Consumer Insights Tracker अनुसार 58 प्रतिशत उत्तरदाताले पछिल्लो 30 दिनमा कुनै न कुनै अनलाइन प्लेटफर्मबाट खाना वा पेय पदार्थ खरिद गरेका थिए। अष्ट्रेलियाली उत्तरदातामा यो अनुपात 62.9 प्रतिशत थियो। अनलाइन खाद्य खरिद गर्दा 34.9 प्रतिशतले सामग्रीको सूची खोजेको बताएका थिए। त्यसैगरी, 26.1 प्रतिशत उत्तरदाताले अनलाइन खाद्य खरिद गर्दा पोषण तथा सम्बन्धित खाद्य जानकारी खोज्न केही हदसम्म वा धेरै कठिन भएको बताएका थिए। यस्तो कठिनाइको प्रमुख कारणमध्ये जानकारीको असंगत उपलब्धता 52.1 प्रतिशत र जानकारीको कमजोर स्पष्टता 48.7 प्रतिशत थियो। 24 प्रतिशतले उत्पादनसम्बन्धी जानकारी र वास्तविक उत्पादनबीच असंगति रहेको बताएका थिए। खाद्य एलर्जी भएका उपभोक्ताका लागि यो सामान्य असुविधाभन्दा ठूलो विषय हुन सक्छ। यदि वेबसाइटमा पुरानो उत्पादनको तस्वीर वा सामग्री विवरण छ, तर उपभोक्ताले फरक फर्मुलेशन भएको उत्पादन प्राप्त गर्छ भने डिजिटल जानकारी र वास्तविक उत्पादनबीच फरक पर्न सक्छ। त्यसैले खाद्य सुरक्षा बहसमा digital labelling र अनलाइन खाद्य बिक्री पनि बढ्दो महत्वको विषय बनेका छन्।

Recall समाधान हो, तर अन्तिम समाधान होइन

खाद्य फिर्ता बोलाउने अर्थात् food recall प्रणालीले जोखिमयुक्त उत्पादन बजारबाट हटाउन महत्वपूर्ण भूमिका खेल्छ। तर recall मूलतः प्रतिक्रियात्मक उपाय हो। समस्या पत्ता लागेपछि उत्पादन बजारबाट हटाइन्छ, उपभोक्तालाई चेतावनी दिइन्छ र व्यवसायले सुधारात्मक कदम चाल्छ। FSANZ का अनुसार 2021–2025 बीच अघोषित एलर्जीजनका कारण भएका 197 recalls मध्ये 91 वटा उपभोक्ताको गुनासोबाट पहिचान भएका थिए। कम्पनीको routine testing बाट 28 र सरकारी routine testing बाट 25 वटा पहिचान भएका थिए। यसले उपभोक्ता गुनासो र व्यवसाय तथा सरकारी निकायको नियमित निगरानी दुवैको महत्व देखाउँछ। डा. तिमिल्सेनका अनुसार खाद्य सुरक्षा निरीक्षणमा मात्र निर्भर हुनु पर्याप्त हुँदैन। व्यवसायभित्रै प्रभावकारी खाद्य सुरक्षा संस्कृतिको विकास आवश्यक हुन्छ। नियामक निकायसँग सीमित स्रोत र जनशक्ति हुन सक्छ। प्रत्येक खाद्य व्यवसायमा निरन्तर निरीक्षण सम्भव नहुन सक्छ। त्यसैले व्यवसाय आफैंले प्रभावकारी खाद्य सुरक्षा प्रणाली स्थापना र कार्यान्वयन गर्नुपर्ने हुन्छ। अर्थात्, नियामकले गल्ती खोज्नु अघि व्यवसायले आफ्नै प्रणालीभित्र गल्ती रोक्न सक्नुपर्छ।

उपभोक्ता पनि खाद्य सुरक्षा प्रणालीको हिस्सा

खाद्य सुरक्षा प्रणालीमा उपभोक्ताको भूमिका पनि महत्वपूर्ण हुन्छ। अघोषित एलर्जीजनका केही घटना उपभोक्ताले नै पहिलो पटक पत्ता लगाउन सक्छन्। उत्पादनको लेबलमा उल्लेख नभएको सामग्री भेटिएमा, उत्पादन र प्याकेजिङबीच असंगति देखिएमा वा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न भएमा उपभोक्ताको गुनासोले व्यवसाय र नियामकलाई समस्या पहिचान गर्न मद्दत गर्न सक्छ। FSANZ को तथ्यांकमा उपभोक्ता गुनासो 2021–2025 अवधिमा अघोषित एलर्जीजनसम्बन्धी recall पहिचान गर्ने सबैभन्दा सामान्य माध्यम थियो। यसैले उपभोक्ता खाद्य सुरक्षा प्रणालीको अन्तिम बिन्दु मात्र होइनन्; उनीहरू महत्वपूर्ण feedback mechanism पनि हुन्। खाद्य एलर्जी भएका व्यक्तिका लागि लेबल ध्यानपूर्वक पढ्नु, अस्पष्ट जानकारी भए प्रश्न गर्नु र आवश्यक जानकारी प्राप्त गर्न नसकिएमा सम्बन्धित उत्पादन नखानु महत्वपूर्ण सावधानी हुन सक्छ।

रोकथामको केन्द्रमा आपूर्तिकर्ता र व्यवसाय

अघोषित एलर्जीजन घटाउन सबैभन्दा प्रभावकारी रणनीति उत्पादन बजारमा पुगिसकेपछि recall गर्नु मात्र होइन—समस्या उत्पन्न हुनुअघि नै रोक्नु हो।

त्यसका लागि खाद्य व्यवसायहरूले:

  • स्वीकृत तथा विश्वसनीय आपूर्तिकर्ता छनोट गर्ने;
  • कच्चा पदार्थमा हुने परिवर्तनको लिखित सूचना प्रणाली विकास गर्ने;
  • नियमित आपूर्तिकर्ता मूल्याङ्कन तथा आवश्यकताअनुसार audit गर्ने;
  • एलर्जीसम्बन्धी जोखिमको छुट्टै मूल्याङ्कन गर्ने;
  • कर्मचारीलाई नियमित र व्यवहारिक तालिम दिने;
  • उत्पादन लाइनबीच प्रभावकारी सफाइ र पृथकीकरण गर्ने;
  • सही उत्पादनमा सही प्याकेजिङ प्रयोग भएको सुनिश्चित गर्ने;
  • फर्मुलेशन वा सामग्री परिवर्तन भए लेबल अद्यावधिक गर्ने;
  • अनलाइन प्लेटफर्ममा उपलब्ध उत्पादन विवरण पनि अद्यावधिक राख्ने;
  • र समस्या देखिए तत्काल corrective action लिने

जस्ता उपाय अपनाउन आवश्यक हुन्छ।

यसरी हेर्दा खाद्य सुरक्षा एउटा विभागको जिम्मेवारी मात्र होइन। यो संस्थाको सम्पूर्ण व्यवस्थापन प्रणालीसँग जोडिएको विषय हो।

स्पष्ट लेबलभन्दा पनि सही सूचना महत्वपूर्ण

अष्ट्रेलियाले खाद्य एलर्जीसम्बन्धी सूचना अझ स्पष्ट बनाउन महत्वपूर्ण नियामक सुधार गरिसकेको छ। PEAL ले उपभोक्तालाई एलर्जीसम्बन्धी जानकारी सजिलै पहिचान गर्न सहयोग गर्ने उद्देश्य राख्छ र 25 February 2024 देखि नयाँ लेबलिङ आवश्यकताहरू अनिवार्य भएका छन्।तर स्पष्टता मात्र पर्याप्त छैन।

लेबलमा लेखिएको सूचना सही र अद्यावधिक हुनुपर्छ।

एउटा फर्मुलेशन परिवर्तन सही रूपमा सञ्चार नभए समस्या सुरु हुन सक्छ। गलत प्याकेजिङले त्यसलाई अगाडि बढाउन सक्छ। अद्यावधिक नगरिएको लेबलले उपभोक्तालाई गलत जानकारी दिन सक्छ। उत्पादन प्रक्रियामा भएको क्रस–दूषणले स्वास्थ्य जोखिम सिर्जना गर्न सक्छ। अनलाइन प्लेटफर्ममा पुरानो विवरण राखिएको अवस्थामा उपभोक्ता खरिदको क्षणमै गलत सूचनामा भर पर्न सक्छ।यसैले अघोषित एलर्जीजनको समाधान केवल “राम्रो लेबल” होइन।

समाधान राम्रो सूचना प्रणाली, जिम्मेवार आपूर्ति शृङ्खला, प्रशिक्षित कर्मचारी, प्रभावकारी traceability, बलियो खाद्य सुरक्षा संस्कृति र सचेत उपभोक्ताको संयोजन हो।

अन्तिम प्रश्नः अष्ट्रेलियाले अझ के गर्न सक्छ?

अष्ट्रेलियाको खाद्य सुरक्षा प्रणालीले उपभोक्तामा उच्च स्तरको विश्वास निर्माण गरेको छ। FSANZ को 2025 Consumer Insights Tracker का अनुसार करिब 70 प्रतिशत उपभोक्ताले अष्ट्रेलिया र न्युजिल्यान्डमा बिक्री हुने खाद्य पदार्थ खानका लागि सुरक्षित रहेको विश्वास व्यक्त गरेका छन्। करिब 80 प्रतिशतले खाद्य लेबल प्रयोग गरेर जानकारीपूर्ण छनोट गर्न आफूहरू विश्वस्त रहेको बताएका छन्।यी तथ्यहरूले खाद्य प्रणालीप्रतिको विश्वास बलियो रहेको देखाउँछन्। तर विश्वास कायम रहनु भनेको चुनौती समाप्त भएको अर्थ होइन।खाद्य उद्योग थप विश्वव्यापी बन्दैछ। आपूर्ति शृङ्खला जटिल हुँदैछ। नयाँ सामग्री र फर्मुलेशन निरन्तर विकास भइरहेका छन्। अनलाइन खाद्य बिक्री बढिरहेको छ। र उपभोक्ता आफ्ना स्वास्थ्यसम्बन्धी आवश्यकताका लागि सही जानकारीमा अझ बढी निर्भर भइरहेका छन्। त्यसैले खाद्य सुरक्षा प्रणालीको अर्को चरण “समस्या भएपछि प्रतिक्रिया” बाट “समस्या हुनुअघि रोकथाम” तर्फ अझ बलियो रूपमा जानुपर्ने देखिन्छ। खाद्य सुरक्षा प्रयोगशाला, निरीक्षण कार्यालय वा सरकारी नियमनको मात्र विषय होइन। यो खेतदेखि कारखानासम्म, कारखानादेखि सुपरमार्केटसम्म र अब वेबसाइटदेखि उपभोक्ताको भान्सासम्म फैलिएको साझा जिम्मेवारी हो। अन्ततः एउटा लेबल कति स्पष्ट र आकर्षक छ भन्नेभन्दा पनि त्यसमा उल्लेख गरिएको जानकारी कति सही र अद्यावधिक छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ। खाद्य एलर्जी भएका उपभोक्ताका लागि यो प्रश्न केवल जानकारीको विषय होइन; कहिलेकाहीँ यसले स्वास्थ्य, गम्भीर एलर्जी प्रतिक्रिया र जीवन जोखिमबीचको फरक निर्धारण गर्न सक्छ।

डा. याकिन्द्र प्रसाद तिमिल्सेनाको सन्देशलाई संक्षेपमा भन्नुपर्दा—खाद्य सुरक्षा सबैको साझा जिम्मेवारी हो।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *