|

उपत्यकासहित देशभर तीव्र वर्षा : २० जिल्लामा बाढीको उच्च जोखिम 

काठमाडौं, असोज १८ ।
नेपालका विभिन्न प्रदेशका करिब २० जिल्लामा बाढीको उच्च जोखिम देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशका पूर्वी र मध्य भू–भागमा लगातार वर्षा भइरहेको छ, जसका कारण नदी तथा खोलाको बहाव तीव्र बन्दै गएको छ।

“हालको वर्षा प्रणाली अझ केही समय सक्रिय रहने अनुमान छ। नदी किनार, पहाडी खोँच र तटीय क्षेत्रका बासिन्दाहरूले सावधानी अपनाउन आवश्यक छ,” विभागको विज्ञप्तिमा उल्लेख छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लामा बाढीको अति उच्च जोखिम रहेको छ।

त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ।

विभागले कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके र बर्दियाका स–साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै तटीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार बागमती, कोशी, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ। विशेषगरी मधेस प्रदेशमा लगातारको वर्षाले भू–क्षय र जलजमावको सम्भावना बढाएको छ।
काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै जाँदा स–साना नदी तथा नालामा पानीको सतह बढ्दै गएको विभागले जनाएको छ।

स्रोत: जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *