शीर्ष नेताहरूसँग चुनावबारे छलफल: तीन दल निर्वाचनमै एकमत- नेपाल सरकारका प्रवक्ता 

काठमाडौं-नेपाल 

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग आगामी निर्वाचनका विषयमा छलफल गरेका छन्।

मन्त्री खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले तीनै दलका शीर्ष नेताहरू निर्वाचनको मूल मर्ममा एकमत रहेको बताएका छन्।

उनका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्। देउवाले कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट रूपमा बताएका खरेलले जानकारी दिए।
‘सभापतिज्यूले स्पष्ट रूपमा भन्नुभएको छ—कांग्रेसको प्राथमिकता चुनाव हो,’ मन्त्री खरेलले भने, ‘उहाँले निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै सुरक्षाको वातावरण सुनिश्चित गर्न सुझाव दिनुभएको छ।’

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको बताएका छन्। प्रचण्डले जसरी पनि फागुन २१ मै निर्वाचन हुनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए। साथै, निर्वाचन सफल बनाउन आफ्नो दलको तर्फबाट सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए।

भेटका क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमाले जनमतको कदर गर्ने लोकतान्त्रिक पार्टी भएकाले चुनावबाट भाग्ने कुरा नआउने बताएका छन्। तर निर्वाचनका लागि पर्याप्त सुरक्षा सुनिश्चित हुनुपर्नेमा उनले जोड दिएको मन्त्री खरेलले जानकारी दिए।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *