अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा SSDRC- Kathamandu द्वारा अटिजम भएका बालबालिकालाई विशेष सम्मान
काठमाडौँ, नेपाल
३ डिसेम्बर २०२५
अटिजम भएका बालबालिकाको शिक्षा, थेरापी, पुनर्स्थापना र पैरवीमा १५ वर्षभन्दा बढी समयदेखि निरन्तर सक्रिय विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) ले ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विभिन्न कार्यक्रमका साथ मनाउँदै अटिजम भएका बालबालिका तथा किशोर–किशोरीलाई सम्मान प्रदान गरेको छ।
“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ SSDRC ले नरेफाँटस्थित मुख्य कार्यालय, गोठाटार सेवा केन्द्र र भक्तपुरको ताथली शाखामा एकसाथ कार्यक्रम सञ्चालन गरेको थियो। तीनै स्थानमा सेवा लिइरहेका बालबालिकाले मनोरञ्जनात्मक र सीप–विकासमूलक गतिविधिमा सहभागिता थियो।


सम्मान–अभिनन्दन
कार्यक्रममा बालबालिकालाई खादा लगाएर सम्मान गरिएको थियो। साथै उनीहरूका लागि खेलकुद गतिविधि, आर्ट एण्ड क्राफ्ट, म्युजिकल चियर, संगीत, नृत्य तथा समूहगत रमाइलो कार्यक्रमसमेत आयोजना गरिएको थियो। सक्रिय सहभागिता जनाउने बालबालिका र किशोर–किशोरीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको SSDRC ले जनाएको छ।
अभिभावक, प्रशिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा भावनात्मक अभिव्यक्ति, आत्मविश्वास अभिवृद्धि र सामाजिक सद्भावका सन्देशसमेत व्यक्त गरियो। अभिभावकहरूले आफ्ना बालबालिकाले पाएको अवसर र सम्मानले उनीहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया समेत दिएका थिए।
SSDRC की केन्द्रीय अध्यक्ष सविता उप्रेतीले अटिजम भएका बालबालिकाको प्रतिभा उजागर गर्ने तथा समाजमा सकारात्मक सोच विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम वार्षिक रूपमा आयोजना गरिँदै आएको बताउनुभएको छ।
“अटिजम भएका बालबालिकालाई सामाजिक जीवनमा सहज रूपमा समावेश गराउन यस्ता गतिविधिले ठूलो प्रेरणा दिन्छ। उनीहरूलाई सम्मानित महसुस गराउनु नै हाम्रो प्रमुख लक्ष्य हो।”
उप्रेतीका अनुसार नेपाल सरकारले २०७४ सालमा अटिजमलाई आधिकारिक रूपमा ‘अटिजम भएको अपाङ्गता’ को रूपमा वर्गीकरण गरेपछि यस समूहका व्यक्तिहरूलाई थप अधिकार, सेवा र सहयोग सुनिश्चित गर्ने प्रयास भइरहेको छ। SSDRC ले पनि पुनर्स्थापना, दैनिक जीवन सीप, Therapy, परिवार सशक्तीकरण तथा समाजमा सचेतना फैलाउने अभियान निरन्तर अघि बढाएको छ।


१५ वर्षे यात्राबाट राष्ट्रिय अभियानसम्म
SSDRC ले स्थापना कालदेखि नै अटिजम भएका बालबालिकाका आवश्यकतामुखी शैक्षिक कार्यक्रम, Multi Therapist Service, परिवार परामर्श, शिक्षक प्रशिक्षण र सामाजिक पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले पछिल्ला वर्षमा समावेशी शिक्षा, अभिभावक सशक्तीकरण र समुदाय–आधारित पुनर्स्थापनालाई विशेष प्राथमिकता दिएको छ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको यस वर्षको उत्सवले अटिजम भएका बालबालिका तथा किशोर–किशोरीलाई दृश्यात्मक रूपमा पनि समाजले स्वीकार्दै गएको सन्देश दिएको SSDRC ले जनाएको छ।
Primary Source of all picture & Data : SSDRC KTM
