गैरआवासीय नेपाली संघका दुई पक्षबीच ऐतिहासिक एकता
काठमाडौँ, नेपाल
गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई छुट्टाछुट्टै नेतृत्वबीच लामो समयदेखि चल्दै आएको विभाजन अन्त्य गर्दै आज ऐतिहासिक एकता भएको छ। प्रधानमन्त्री सुशिला कार्कीको विशेष उपस्थितिमा ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी समूह र एकताको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ समूहबीच एकताको औपचारिक हस्ताक्षर सम्पन्न गरिएको हो।
एकता घोषणाको कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलले संघको संस्थागत पुनःस्थापनाका लागि आजको सम्झौता महत्वपूर्ण चरण भएको बताए। उनले भने, “कागजमा भएको एकतालाई मन, मस्तिष्क र व्यवहारमा रूपान्तरण गर्न सबै पक्षले इमानदार पहल गर्नुपर्छ।”
आगामी केही महिनामा आयोजना हुन लागेको बृहत् एकताको १२औँ महाधिवेशनलाई सफल बनाउन तथा संस्थागत सुधारको नयाँ मार्गचित्र तयार गर्न दुवै पक्ष प्रतिबद्ध देखिएका छन्। आगामी महाधिवेशनको लागि केसी नेतृत्वको कार्यसमिति महेश श्रेष्ठ नेतृत्वको एकता महाधिवेशनमा जाने निर्णयमा सहमत भएको छ। महाधिवेशन पारदर्शिता विश्वासयोग्यता बनाउनको लागि ११ सदस्य कमिटी गठन गर्दा उक्त कमिटीहरू महाधिवेशनको उम्मेदवार नहुने प्रावधान पनि राखिएको छ।
आज सार्वजनिक गरिएको ‘एकताको प्रतिबद्धता’ले विभाजनका मुख्य कारण मानिएका ‘३ पी’—पोलिटिक्स, पावर र पर्स (पैसा)—लाई न्यूनिकरण गर्दै एनआरएनएको पुनःब्रान्डिङतर्फ महत्वपूर्ण कदम चालिएको बताइएको छ।
एकता प्रक्रियालाई सफल बनाउन योगदान पुर्याउने अध्यक्षद्वय बद्री केसी र महेश कुमार श्रेष्ठ तथा दुवै पक्षका वार्ता समिति सदस्यहरूको भूमिकाको प्रशंसा गरिएको छ। दुवै समूहका प्रतिनिधिहरूले एकता स्थायित्व कायम राखेर विश्वभरि फैलिएका गैरआवासीय नेपालीबीच साझा लक्ष्य र एकीकृत अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनएमा देखिएको यो सहमति संस्थाको भविष्यका लागि महत्वपूर्ण मोड मानिएको छ। धेरै वर्षपछि दुवै नेतृत्व एकै मञ्चमा आएपछि विश्वभरका एनआरएन समुदायले सकारात्मक प्रतिक्रिया जनाएका छन्।
