नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन- एमालेमा बहुमत ल्याउने तागत छ : ओली
भक्तपुर-नेपाल,
नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा उद्घाटन भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो रिमोटमार्फत झण्डोत्तोलन गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन्।
नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा सम्पन्न भइसकेकाले यो महाधिवेशन मुख्यतः नयाँ नेतृत्व चयनमा केन्द्रित रहने एमालेले जनाएको छ। “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” भन्ने मूल नारासहित सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस का नेता, नेकपा माओवादी केन्द्रका नेता, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, राप्रपा नेता, जनता समाजवादी पार्टीका नेताहरूले शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको छ।
एमालेले अहिलेसम्मकै ठूलो सभा आयोजना गरिएको दाबी गरेको छ। पार्टीले देशभरबाट सवारी साधन रिजर्भ गरी कार्यकर्तालाई काठमाडौं ल्याएको जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो हुँदा नै लोकतन्त्रले पूर्णता पाउने दाबी गरे। उनले २००७, २०४६ र २०६२/०६३ सालका राजनीतिक परिवर्तनको चर्चा गर्दै ती परिवर्तनहरूमा कम्युनिष्ट आन्दोलनको निर्णायक भूमिका रहेको बताए।
ओलीका अनुसार २००७ सालमा कम्युनिष्ट पार्टी भर्खर स्थापना भएकाले परिवर्तनले सार्थकता पाउन सकेन, २०४६ सालमा कम्युनिष्ट पार्टी सबल भई संयुक्त नेतृत्वमा पुगेपछि प्रजातन्त्र प्राप्त भयो भने २०६२/०६३ मा नेतृत्वदायी भूमिकामा रहँदा राजतन्त्र अन्त्य भई संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भयो।
“जति जति कम्युनिष्ट पार्टी बलियो हुन्छ, त्यति त्यति नै लोकतन्त्र सुदृढ हुन्छ, राष्ट्रिय स्वाधीनता र स्वाभिमान मजबुत हुन्छ र समृद्धिको यात्रा अगाडि बढ्छ,” उनले भने।
अध्यक्ष ओलीले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७७ वर्ष पुगेको उल्लेख गर्दै पार्टीको इमानदारी र निष्ठाप्रति गौरव रहेको बताए। पछिल्ला महिनाहरूमा संविधान, देश र राजनीतिक दलमाथि आक्रमण भएको उल्लेख गर्दै उनले महाधिवेशनमा देखिएको जनसागरले ‘लोकतन्त्र अजेय छ र एमाले अजम्बरी छ’ भन्ने सन्देश दिएको दाबी गरे।
“एमाले कुनै पनि वैधानिक चुनावबाट भाग्ने छैन किनकि एमालेमा बहुमत ल्याउने तागत छ” उनले थपेका छन्।
