भीम रावल र प्रमोद नारायण यादव ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश, प्रचण्डको भनाइ– “एमालेका सबै नेताहरू अन्ततः यहाँ आउनेछन्”

काठमाडौं ।
पूर्व एमाले नेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (श्रमजिवी) का महासचिव प्रमोद नारायण यादव ‘नेपाली कम्युनिस्ट पार्टी’मा प्रवेश गरेका छन्।

बुधवार राजधानीस्थित राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो। सो अवसरमा मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीबीच सात बुँदे सहमति भएको घोषणा गरिएको थियो। सहमतिपत्रमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक रावलका हस्ताक्षर छन्।

कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, “केपीजीले हावादारी कुरा गर्छन्, तर एमालेका अधिकांश नेताहरू अन्ततः यहाँ आउनेछन्।” उनका अनुसार हालसम्म १२ वटा राजनीतिक दल र समूह ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित भइसकेका छन्।

गत कात्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न दल र समूहहरू एकीकृत भएर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको थियो। नेतृत्वले यो एकीकरणलाई वाम राजनीतिक एकताको दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *