आपत्कालीन सहयोग र राजदूतावासको उत्तरदायित्व बढाउन एनआरएनए अस्ट्रेलिया–क्यानाबेराद्वारा नेपालका परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

अस्ट्रेलियामा नेपालीका १३० सहायता प्रकरण रिपोर्ट; मानसिक स्वास्थ्य, स्वदेश फिर्ती, आवास, पुनर्स्थापना र विद्यार्थी कल्याणका समस्या सम्बोधन गर्न प्रभावकारी संयन्त्र बनाउन माग

क्यानबेरा, अस्ट्रेलिया, १० अक्टोबर २०२६।

अस्ट्रेलियामा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या समाधान गर्न प्रभावकारी सहायता प्रणाली निर्माण तथा नेपाली राजदूतावासको उत्तरदायित्व थप सुदृढ बनाउन माग गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया–क्यानाबेराले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष ज्ञापनपत्र प्रस्तुत गरेको छ।  क्यानबेरामा आयोजित भेटघाट कार्यक्रममा प्रस्तुत ज्ञापनपत्रमा मानसिक स्वास्थ्य, आवास, स्वदेश फिर्ती, पुनर्स्थापना, विद्यार्थी कल्याण तथा आकस्मिक परिस्थितिमा परेका नेपाली नागरिकलाई सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ।

ज्ञापनपत्र प्रस्तुत गर्ने कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका प्रवक्ता अशोक बस्नेत, एनआरएनए अस्ट्रेलिया–क्यानाबेराका संयोजक ललित मल्ल, सचिव नवीन पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।संघले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, श्रमिक, परिवार तथा अन्य नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन नेपाल सरकार, नेपाली राजदूतावास र सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य प्रभावकारी बनाउन आग्रह गरेको छ।

ज्ञापनपत्रमा

आपत्कालीन सहायता कोष स्थापना गर्न प्रस्ताव

ज्ञापनपत्रमा आकस्मिक दुर्घटना, गम्भीर स्वास्थ्य समस्या तथा अन्य संकटमा परेका नेपाली नागरिकलाई समयमै सहयोग उपलब्ध गराउन आपत्कालीन सहायता कोष स्थापना गर्नुपर्ने प्रस्ताव गरिएको छ।अस्पताल भर्ना, आकस्मिक आवास, अन्त्येष्टि, शव नेपाल फिर्ता पठाउने व्यवस्था तथा आपत्कालीन हवाई टिकटजस्ता आवश्यकतामा परेका नागरिकलाई सहयोग पुर्‍याउन यस्तो कोष उपयोगी हुने संघको धारणा छ।यसका लागि नेपाल सरकार, नेपाली राजदूतावास र अस्ट्रेलियास्थित नेपाली समुदायका संस्थाबीच संयुक्त कार्यविधि निर्माण गरी सहयोग उपलब्ध गराउने प्रक्रिया, जिम्मेवारी र समन्वय प्रणाली स्पष्ट बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

मानसिक स्वास्थ्य र विद्यार्थी कल्याणमा ध्यान दिन आग्रह

राज्यगत विवरणमा मानसिक स्वास्थ्य, घरबारविहीनता, भिसासम्बन्धी जटिलता तथा विद्यार्थी कल्याणका प्रकरण उल्लेख गरिएकाले अस्ट्रेलियामा रहेका नेपालीको समस्या बहुआयामिक रहेको देखिन्छ।संघले यस्ता परिस्थितिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ। विशेषगरी संकटमा परेका विद्यार्थी तथा अन्य नेपाली नागरिकलाई उचित परामर्श, सुरक्षित आवास, आवश्यक सेवा र स्वदेश फिर्तीसम्बन्धी सहयोग उपलब्ध गराउने व्यवस्था महत्त्वपूर्ण हुने देखिन्छ।

गैरआवासीय नेपालीका अधिकार कार्यान्वयन गर्न माग

ज्ञापनपत्रमा गैरआवासीय नेपालीको नागरिकता तथा सम्बन्धित अधिकारको प्रभावकारी कार्यान्वयनलाई पनि प्राथमिकतामा राखिएको छ।विदेशमा बसोबास गरे पनि नेपालसँग आफ्नो पहिचान, पारिवारिक सम्बन्ध तथा सामाजिक र आर्थिक योगदान कायम राखेका नेपाली मूलका व्यक्तिले प्रचलित कानुनी व्यवस्थाअनुसार आफ्ना अधिकार प्रयोग गर्न सहज, पारदर्शी र सरल प्रक्रिया आवश्यक रहेको संघको धारणा छ।त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकले नेपालसँगको सम्बन्ध कायम राख्दै देशको सामाजिक तथा आर्थिक विकासमा योगदान गर्न सक्ने वातावरण बनाउन सरकारसँग आग्रह गरिएको छ।

नेपाल–अस्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको योगदान

एनआरएनए अस्ट्रेलियाले अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई नेपाल र अस्ट्रेलियाबीच सामाजिक, आर्थिक, व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण साझेदारका रूपमा प्रस्तुत गरेको छ। ज्ञापनपत्रमा गैरआवासीय नेपालीको ज्ञान, सीप, अनुभव र आर्थिक क्षमतालाई नेपालको विकाससँग जोड्न लगानी, उद्यमशीलता, सीप हस्तान्तरण, पर्यटन प्रवर्द्धन तथा वैदेशिक प्रत्यक्ष लगानी (FDI) विस्तारका लागि अनुकूल वातावरण बनाउनुपर्ने विषय समेटिएको छ। यसका लागि स्पष्ट नीति, सहज लगानी प्रक्रिया तथा प्रभावकारी सहजीकरण प्रणाली विकास गर्नुपर्ने संघको सुझाव छ।

दीर्घकालीन सहकार्यमा जोड

ज्ञापनपत्रमा विदेशमा रहेका नेपालीको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै नेपाल सरकार तथा विदेशस्थित नेपाली समुदायबीच दीर्घकालीन सहकार्यको संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।आपत्कालीन अवस्थामा तत्काल सहायता उपलब्ध गराउने प्रणालीलाई व्यवस्थित बनाउनुका साथै नेपाली नागरिकको अधिकार, राजदूतावासको जिम्मेवारी र डायस्पोराको विकासमा योगदानलाई प्रभावकारी रूपमा जोड्नुपर्ने संघको मुख्य आग्रह रहेको छ।

अस्ट्रेलियामा १३० सहायता प्रकरण रिपोर्ट

एनआरएनए अस्ट्रेलियाले ९ अक्टोबर २०२६ मा अद्यावधिक गरेको आर्थिक वर्ष २०२५–२६ को राज्यगत विवरणअनुसार अस्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रबाट कुल १३० वटा सहायता प्रकरण रिपोर्ट गरिएका छन्।

न्यु साउथ वेल्स (NSW) मा सबैभन्दा धेरै ८२ वटा प्रकरण रिपोर्ट भएका छन्। तीमध्ये आठ स्वदेश फिर्ती, २४ मानसिक स्वास्थ्य, १८ घरबारविहीनता तथा भिसासम्बन्धी समस्याका कारण नेपाल फर्किनुपर्ने अवस्थासँग सम्बन्धित र ३२ अन्य विद्यार्थी कल्याणसम्बन्धी प्रकरण छन्। विद्यार्थी कल्याणसम्बन्धी विवरणमा घरेलु हिंसाका घटनासमेत समावेश छन्।

अन्य राज्य तथा क्षेत्रबाट रिपोर्ट गरिएका प्रकरणमध्ये दक्षिण अस्ट्रेलियामा १०, तास्मानियामा नौ, क्वीन्सल्यान्डमा सात, पश्चिम अस्ट्रेलियामा सात, अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) मा सात, भिक्टोरियामा तीन र नर्दर्न टेरिटोरीमा तीन वटा छन्। राज्य वा क्षेत्र नखुलेका दुई वटा प्रकरण पनि विवरणमा समावेश छन्।

दक्षिण अस्ट्रेलियाका १० वटै प्रकरण पुनर्स्थापनासम्बन्धी छन्। तास्मानियामा पाँच स्वदेश फिर्ती, दुई मानसिक स्वास्थ्य र दुई अन्य विद्यार्थी कल्याणसम्बन्धी प्रकरण रिपोर्ट भएका छन्। ACT मा दुई अन्त्येष्टि सहायता, तीन व्यक्तिगत कल्याणसम्बन्धी सहयोग र दुई स्वदेश फर्कने हवाई टिकटसम्बन्धी प्रकरण छन्।

यद्यपि, यो विवरण प्रारम्भिक रहेको र सहायता प्रकरणबीच दोहोरो गणना भएको हुन सक्ने तथा वर्गीकरणका आधार पुष्टि गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैले १३० लाई पुष्टि भएका छुट्टाछुट्टै लाभग्राहीको संख्या नभई रिपोर्ट गरिएका सहायता प्रकरणको कुल संख्या मान्नुपर्छ।

स्रोत: एनआरएनए अस्ट्रेलियाको १ अक्टोबर २०२६ को ज्ञापनपत्र तथा Support Cases by State | FY 2026 – Revised Summary, अद्यावधिक ९ अक्टोबर २०२६।

 

Most read

  1. Card Payment Surcharges to End Across Australia from 1 October
  2. Sydney accounting firm fined $177,000 over unlawful cashback scheme involving migrant worker
  3. Nearly 2 million Quest customers affected by data breach
  4. Goodwin Aged Care Services to repay $1.39 million after employee underpayments
  5. NSW Expands Paid Internship Program Across Creative Industries

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *