|

अस्ट्रेलियामा व्यापारिक सब्सक्रिप्शनका अनुचित अभ्यास र लुकेका शुल्कविरुद्ध कडा कारबाही

२३ नोभेम्बर २०२५ — क्यानबेरा, अस्ट्रेलिया

अल्बानीज लेबर सरकारले अष्ट्रेलियाली उपभोक्तालाई वर्षौँदेखि ठग्दै आएका अनुचित व्यापारिक अभ्यास (unfair trading practices) विरुद्ध कडा कदम चाल्दै, व्यापारिक सब्सक्रिप्शनका गलत तरिका र लुकेका शुल्क (hidden fees) रोक्न नयाँ सुधार अघि बढाएको छ।

उत्पादनशीलता, प्रतिस्पर्धा, च्यारिटी र ट्रेजरीका सहायक मन्त्री Dr Andrew Leigh ले राज्य तथा प्रदेशहरूको सहमतिपछि सुधार प्रक्रिया अघि बढेको जानकारी दिए। धेरै उपभोक्ताले निःशुल्क परीक्षणमा साइन अप गर्दा अनपेक्षित शुल्क लाग्ने वा खरिदको अन्तिम चरणमा मात्रै वास्तविक मूल्य थाहा हुने समस्याका कारण असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

नयाँ नियमअनुसार व्यवसायहरूले अब सब्सक्रिप्शन सुरु गर्नु अघि स्पष्ट जानकारी दिनुपर्ने, निःशुल्क परीक्षण अवधि सकिनुअघि ग्राहकलाई अनिवार्य रूपमा सूचित गर्नुपर्ने, र रद्द (cancel) गर्न अनावश्यक बाधा हटाउनुपर्ने हुनेछ। साथै, drip pricing रोक्न सबै अनिवार्य शुल्कहरू सुरुमै स्पष्ट रूपमा देखाउनुपर्नेछ।

सरकारका अनुसार यी सुधारहरूले उपभोक्ताको निर्णय प्रक्रियामा हेरफेर गर्ने तथा आर्थिक नोक्सान गराउने गतिविधि अन्त्य गर्नेछन्। यसले बजारमा पारदर्शिता बढाउने, प्रतिस्पर्धा सुधार गर्ने र परिवारहरूलाई आर्थिक राहत दिने अपेक्षा गरिएको छ।

सुधार अन्तर्गत उपभोक्ता ग्यारेन्टी पनि बलियो बनाइनेछ। उत्पादन वा सेवा असफल भएमा उपभोक्ताले फिर्ता, मर्मत वा प्रतिस्थापन अनिवार्य रूपमा प्राप्त गर्नुपर्नेछ। नियम उल्लङ्घन गर्ने व्यवसायहरूलाई कडा जरिवाना लाग्नेछ, र नियामक निकायलाई थप अधिकार प्रदान गरिनेछ। साना व्यवसायलाई नोक्सान हुन नदिई निर्माताले आपूर्तिकर्तालाई आवश्यक इन्डेम्निटी (indemnity) दिनुपर्ने व्यवस्था पनि लागू गरिनेछ।

सरकारले २०२६ को सुरुआतमा विधेयकको मस्यौदा सार्वजनिक गरी परामर्श प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। साथै, अनुचित व्यापारिक अभ्यासबाट साना व्यवसाय र फ्रेन्चाइजी क्षेत्रलाई पनि अतिरिक्त सुरक्षा प्रदान गर्ने तयारी भइरहेको छ।

सहायक मन्त्री Dr Andrew Leigh  का अनुसार:

“सब्सक्रिप्शन ट्रयाप र लुकेका शुल्कजस्ता छलकपटपूर्ण अभ्यास अब समाप्त हुनेछन्। अष्ट्रेलियालीहरूले जाल होइन, पारदर्शिता पाउनुपर्छ। यी सुधारले उपभोक्ताको छनोट अधिकारमा हस्तक्षेप गर्ने र खर्च बढाउने गलत कार्य रोक्नेछन्। हामी उपभोक्ता ग्यारेन्टी पनि थप मजबुत बनाउँदैछौं, ताकि उत्पादन असफल हुँदा उपभोक्ताले उचित फिर्ता, मर्मत वा प्रतिस्थापन पाउन निश्चित होस्।”

Source: Press Statement of Dr Andrew Leigh

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *