क्यानबेरामा उत्कृष्ट ड्राइभिङ्ग रेकर्ड भएकालाई लाइसेन्स नवीकरणमा ३० प्रतिशत छुट
क्यानबेरा अष्ट्रेलिया
पाँच वर्षसम्म उत्कृष्ट ड्राइभिङ्ग रेकर्ड कायम राख्न सफल एसीटी (Australian Capital Territory) का चालकहरूलाई अब लाइसेन्स नवीकरणमा ३० प्रतिशतसम्म छुट प्रदान गरिने भएको छ।
एसीटी सरकारले जनाएको अनुसार, यो योजना ती चालकहरूका लागि हो जसले लगातार पाँच वर्षसम्म कुनै पनि ट्राफिक उल्लङ्घन नगरी जिम्मेवारपूर्वक सवारी सञ्चालन गरेका छन्।
सरकारले जारी गरेको सूचनाअनुसार, छुटका लागि चालकले पछिल्ला पाँच वर्षभित्र तलका अवस्थाहरूमा नपरेको हुनुपर्नेछः
- ट्राफिक वा क्यामेरा-द्वारा पत्ता लाग्ने कुनै पनि उल्लङ्घन नोटिस प्राप्त नगरेको,
- मदिरा वा लागूपदार्थ सेवन गरी सवारी चलाउने जस्ता गम्भीर अपराधमा दोषी नठहरिएको,
- सवारीसाधनसम्बन्धी कुनै पनि ट्राफिक अपराधमा दोषी नठहरिएको।
छुट स्वतः रूपमा लागू हुने भएकाले चालकहरूले छुटका लागि छुट्टै आवेदन दिनु पर्ने छैन। योग्य चालकको लाइसेन्स नवीकरण सूचनामा नै छुट सम्बन्धी जानकारी उल्लेख हुनेछ।
एसीटी सरकारले यो पहललाई सुरक्षित र जिम्मेवार ड्राइभिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका रूपमा व्याख्या गरेको छ। एसीटी सरकारका अनुसार, ट्राफिक नियमको पालना गर्ने चालकहरूलाई सम्मान र प्रोत्साहन दिन यस प्रकारका प्रोत्साहन योजना निरन्तर अगाडि बढाइने पनि जनाइएको छ।
स्रोत: ACT Government ( www.accesscanberra.act.gov.au)
To find out more, visit: https://bit.ly/3UdYcpj
