|

प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा बहुमत निवर्तमान सांसदको हस्ताक्षर, मंगलबार सर्वोच्चमा पूरक रिट

काठमाडौं।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६६ सहित विभिन्न दलका जम्मा ६९ निवर्तमान सांसदले हस्ताक्षर गरेका छन्। उक्त हस्ताक्षरसहितको पूरक रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिने भएको छ।

निवर्तमान सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेसमार्फत रिट दायर गर्ने अधिकार दिएका छन्। खातीले सबै ६९ सांसदको हस्ताक्षर प्राप्त भइसकेको र मंगलबार सर्वोच्च अदालतमा दर्ता गरिने जानकारी दिएका छन्।

कांग्रेससँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन्। उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन्।

यसअघि नै नेकपा एमालेका ७५ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका छन्। कांग्रेसतर्फबाट निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित सांसद दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक र नागिना यादवले पनि रिट दायर गरिसकेका छन्। एमालेले मंसिर १० गते र कांग्रेसका सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए।

हालसम्म हस्ताक्षर बुझाउने दुई प्रमुख दलका सांसद संख्या जोड्दा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहुमत पुग्ने देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्नेमा हाल हस्ताक्षर गर्ने सांसदको संख्या १४३ पुगेको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *