अस्ट्रेलियामा बढ्दो वित्तीय अपराध र ठगी- डिजिटल साक्षरता किन आजको गम्भीर आवश्यकता बनेको छ?
KNA- Canberra
समुदायमा सचेतना जगाउने उद्देश्यका साथ यो लेख तयार गरिएको हो।
डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियाको विकसित अर्थतन्त्र अहिले गम्भीर वित्तीय अपराध र ठगी को चपेटामा परेको छ। अनलाइन स्क्याम, ठगी, मनी–लन्ड्रिङ, साइबर अपराध र कर छली जस्ता गतिविधि तीव्र रूपमा बढ्दै जाँदा व्यक्तिगत नागरिक देखि ठूला व्यवसाय र राष्ट्रिय सुरक्षा सम्म प्रत्यक्ष असर परिरहेको छ।
प्रविधिको दुरुपयोग गर्दै अपराधी समूहहरूले बैंकिङ प्रणाली, सरकारी अनुदान, सुपरएन्युएसन तथा क्रिप्टोकरेन्सीलाई मुख्य निशाना बनाएका छन्। सरकारी तथ्याङ्कअनुसार २०२३–२४ मा अस्ट्रेलियामा अपराधको कुल आर्थिक लागत ८२ अर्ब डलर नाघेको छ, जसमध्ये वित्तीय अपराधबाट मात्रै १३.२ अर्ब डलरभन्दा बढी क्षति भएको अनुमान छ।
हाल कुन–कुन प्रकारका वित्तीय अपराध बढ्दै छन्र र यसबाट विशेषत को–को बढी प्रभावित छन्?
विशेषज्ञहरूका अनुसार वृद्ध वृद्धा, आप्रवासी समुदाय र डिजिटल साक्षरता कम भएका समूह Scam (ठगी) को मुख्य निशाना बन्दै आएका छन्। यसले आर्थिक मात्र होइन, मानसिक र सामाजिक असर समेत पारिरहेको छ।
साथै, मनी–लन्ड्रिङ र संगठित वित्तीय अपराध, ड्रग कारोबार, मानव बेचबिखन र अन्तर्राष्ट्रिय अपराधसँग जोडिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती बनेको छ।
मुख्यतया फोन, इमेल, सामाजिक सञ्जाल र एसएमएस मार्फत बैंक, सरकारी निकाय वा प्रतिष्ठित कम्पनीको नक्कली पहिचान प्रयोग गरेर नागरिकलाई झुक्याइने घटना दैनिकजसो बढ्दै गएको छ। Bank Account hacking, Fishing आक्रमण मार्फत नागरिक र व्यवसायबाट करोडौँ डलर लुटिने क्रम जारी छ। डिजिटल बैंकिङको विस्तारसँगै जोखिम पनि उत्तिकै बढेको छ।
अवैध स्रोतबाट कमाइएको पैसा वैध देखाउन पनि विभिन्न बहानामा संगठित अपराध गैर रुपमा जोडिएको पाइन्छ ।
नियामक निकायको प्रतिक्रिया
AUSTRAC, Australian Federal Police (AFP), ASIC, ACCC र ATO जस्ता निकायहरूले कडा निगरानी र अनुसन्धान बढाएका छन्। AML/CTF कानुन सुदृढ गर्दै ग्राहक पहिचान (KYC), शंकास्पद लेनदेन रिपोर्टिङ र जोखिम मूल्यांकन प्रणालीलाई मजबुत बनाइएको छ।
Scam-watch र Cyber.gov.au जस्ता प्लेटफर्ममार्फत जनचेतना अभियान सञ्चालन गराइरहेका छन् भने बैंक तथा वित्तीय संस्थाले एआई–आधारित रियल–टाइम लेनदेन निगरानी प्रणाली प्रयोग गर्न थालेका छन्। अस्ट्रेलियामा वित्तीय अपराध अब सीमित समस्या होइन, यो आर्थिक स्थायित्व र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती बनेको छ। तर कडा कानुन, प्रविधिको प्रभावकारी प्रयोग र नागरिक सचेतनाले मात्र अस्ट्रेलियालाई सुरक्षित वित्तीय भविष्यतर्फ लैजान सक्ने विज्ञहरूको निष्कर्ष छ।
अस्ट्रेलियामा बढ्दो वित्तीय अपराध सँग जोगिन किन डिजिटल साक्षरताको आवश्यकता पर्दछ भन्ने विषयमा हामीले जेनी अमात्य (Jenny Amatya) सँग केही थप सुझाव र जोखिम न्यूनीकरणका उपायबारे जानकारी लिएका छौं।जो अहिले Associate Agility Coach at Commonwealth Bank, Australia मा हुनुहुन्छ। उहाँ Former Nepal Tourism Ambassador 2016 र Miss Tourism 2016 (1st Runner Up) हुनुहुन्छ।
प्रश्न १: अस्ट्रेलियामा हाल वित्तीय अपराध किन बढ्दो क्रममा देखिन्छ?
अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा वित्तीय अपराध तीव्र रूपमा बढ्नुको मुख्य कारण डिजिटल प्रविधिको व्यापक प्रयोग हो। अनलाइन बैंकिङ, मोबाइल एप, क्रिप्टोकरेन्सी र सामाजिक सञ्जालको प्रयोग बढेसँगै अपराधीहरूले नयाँ–नयाँ तरिका अपनाइरहेका छन्। स्क्याम, फिसिङ, पहिचान चोरी (Identity Theft) र अनलाइन ठगी अहिले गम्भीर चुनौती बनेका छन्।
धेरै मानिसहरूसँग ठगीबारे सीमित ज्ञान हुन्छ र ठगी गर्ने तरिकाबारे कम सचेत हुन्छन्। यसले उनीहरूलाई बढी संवेदनशील बनाउँछ, विशेष गरी वृद्धवृद्धाहरूलाई, जो प्रायः बढी विश्वास गर्ने स्वभावका हुन्छन्। आर्थिक कठिनाइ र सीमित रोजगारी अवसरहरूले पनि व्यक्तिहरूलाई ठगीको शिकार बन्न सजिलो बनाउँछ।
प्रश्न २: कुन–कुन प्रकारका वित्तीय अपराध सबैभन्दा बढी देखिएका छन् र सुरक्षामा कस्तो असर पारेको छ?
सबैभन्दा बढी देखिएका अपराधहरूमा:
- अनलाइन स्क्याम (Romance scam, Investment scam)
- फिसिङ इमेल र नक्कली SMS
- बैंक खाताबाट रकम चोरी
- क्रेडिट कार्ड फ्रड
- क्रिप्टो सम्बन्धी ठगी
यी अपराधहरू विशेष गरी आप्रवासी समुदाय, वृद्ध नागरिक र डिजिटल रूपमा कमजोर व्यक्तिलाई लक्षित गरेर गरिन्छन्। यसले आर्थिक क्षति मात्र होइन, मानसिक तनाव र आत्मविश्वासमा समेत गहिरो असर पारेको छ। धेरै पीडितहरू लज्जा वा डरका कारण घटनाबारे रिपोर्ट नै गर्दैनन्। यसले अपराधीलाई झनै प्रोत्साहन दिने अवस्था सिर्जना गर्छ।
ठगीका तरीकामा अहिले नयाँ प्रविधि पनि प्रयोग भइरहेको छ। जस्तै, ठगीका फोन कलहरू, AI सँग सम्बन्धित कलहरू जसले तपाईंको व्यक्तिगत विवरणहरू रेकर्ड गर्छन्, र सामाजिक सञ्जालमा अत्यधिक व्यक्तिगत जानकारी सार्वजनिक गर्नु ले पनि अपराधीहरूलाई सजिलो बनाउने गरेको पाइन्छ।
अर्कोतर्फ, ठगीकर्ताहरूले विश्वसनीय निकायहरू जस्तै ATO (Australian Taxation Office) वा Home Affairs को नाममा फोन इमेल बाट विभिन्न बहानामा पनि मानिसहरूलाई ठग्ने प्रयास गर्छन्।
प्रश्न ३: डिजिटल साक्षरता भनेको के हो र यो किन आवश्यक छ?
डिजिटल साक्षरता भनेको डिजिटल उपकरण, इन्टरनेट र अनलाइन सेवाहरू सुरक्षित, जिम्मेवार र सचेत रूपमा प्रयोग गर्ने ज्ञान र सीप हो।
यो आवश्यक छ किनकि:
- स्क्याम र ठगी चिन्ने क्षमता विकास हुन्छ
- व्यक्तिगत सूचना सुरक्षित राख्न सकिन्छ
- अनलाइन जोखिमबाट बच्न सकिन्छ
- आत्मनिर्भर र सुरक्षित डिजिटल जीवन सम्भव हुन्छ
प्रश्न ४: डिजिटल साक्षरता नभएमा व्यक्ति कस्ता जोखिममा पर्छ?
डिजिटल साक्षरता नभएका व्यक्तिहरू सजिलै नक्कली वेबसाइट, झुटा फोन कल वा इमेलको सिकार बन्छन्। उनीहरूले आफ्नो पासवर्ड, बैंक विवरण वा व्यक्तिगत जानकारी अनजानमै अपराधीलाई दिन सक्छन्, जसको परिणामस्वरूप ठूलो आर्थिक क्षति हुन सक्छ।
प्रश्न ५: सरकार र समुदायले यस समस्याको समाधानका लागि के गर्नुपर्छ?
सरकार वा सम्बन्धित संस्थाले ले गर्न सक्ने पहल:
- बहुभाषिक डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्छ
- आप्रवासी र वृद्ध लक्षित तालिम दिनुपर्छ
- कडा साइबर कानुन र निगरानी प्रणाली लागू गर्नुपर्छ
समुदायले गर्न सक्ने पहल:
- सूचना आदान–प्रदान गर्नुपर्छ
- स्क्यामबारे खुला छलफल गर्नुपर्छ
- नयाँ आगन्तुकलाई मार्गदर्शन गर्नुपर्छ
प्रश्न ६: नेपाली समुदायका लागि नयाँ आउने नेपाली समुदाय किन यो जोखिममा छन् ?
वित्तीय अपराध भनेको ठगी गरेर पैसा वा व्यक्तिगत जानकारी चोरी गर्नु हो। आजकल यो अपराध धेरैजसो इन्टरनेट, मोबाइल, इमेल र सामाजिक सञ्जाल मार्फत हुने गरेको छ। नयाँ आउने नेपाली समुदाय कतिपयमा नयाँ देश र नियमबारे जानकारी कम हुन्छ भाषाको कठिनाइ र अनलाइन बैंकिङ सरकारी सेवा प्रयोग गर्न नेपाल र यहाँको वातावरण मिलेको हुँदैन। र स्क्यामरहरूले यस्तै आप्रवासीहरूलाई सजिलै निशाना बनाए फाइदा उठाइरहेको हुन्छ। अहिले मुख्यतया Scammer हरूले नक्कली इमेल, एसएमएस, सानो लगानीले ठूलो रकम आर्जन, पुरस्कार पाएको, रोजगारी दिलाइदिने जस्ता कुराहरूमा नयाँ आप्रवासी हरुलाई सजिलै झुक्काइरहेका हुन्छन् ।
प्रश्न ७: यस्ता चुनौतीबाट जोकिन के के गर्न सकिन्छ ?
प्रमुख त डिजिटल साक्षरता हुनुपर्दछ र नजानेको नचिनेको आफूसँग सम्बन्धित नभएको फोन कल म्यासेज केही आएमा Ignor गर्ने वा अन्य जानकार व्यक्तिसँग आफन्तसँग सल्लाह लिने ।
यसलाई यसरी पनि भन्न सकिन्छ कि यस्ता गल्ती नगर्नुहोस् जस्तै:
- अनजान लिंकमा क्लिक नगर्नुहोस्
- फोन/इमेलमा पासवर्ड, OTP, बैंक विवरण नदिनुहोस्
- “आजै पैसा पठाउनुहोस्” भन्ने दबाबमा नपर्नुहोस्
- सानो लगानीले एक दुई दिनमै ठूलो फाइदा हुन्छ भन्ने भ्रममा नपर्नुहोस्र
सुरक्षित रहन यी कुरा अपनाउनुहोस्
- बलियो पासवर्ड प्रयोग गर्नुहोस्
- दुई तहको सुरक्षा (Two-Factor Authentication) प्रयोग गर्नुहोस्
- शंका लागेमा परिवार वा साथीलाई सोध्नुहोस्
- स्क्याम भएको शंका लागे तुरुन्त बैंक वा प्रहरी लाई जानकारी दिनुहोस्
- घटना Scam-watch वा सम्बन्धित निकायमा रिपोर्ट गर्नुहोस्
- लाज नमान्नुहोस् — स्क्याम कसैलाई पनि पर्न सक्छ
- तुरुन्तै आएको इमेलमा कार्य नगर्नुहोस्, जवाफ नदिनुहोस् र कुनै हाइपरलिङ्कमा क्लिक नगर्नुहोस्।
- कुनै पनि विवरण सेयर गर्नु अघि रोक्नुहोस् र ध्यान दिनुहोस्।
- प्राप्तकर्ता विवरणहरू सही र वास्तविक हुन् भन्ने सुनिश्चित गर्नुहोस्।
प्रश्न ८: आम नागरिकका लागि तपाईंको सन्देश के छ?
कुनै पनि अनजान लिंक नखोल्नुहोस्, शंकास्पद फोन वा इमेलमा व्यक्तिगत जानकारी नदिनुहोस्। “छिटो पैसा कमाउने” प्रस्तावप्रति सधैं सतर्क रहनुहोस्। शंका लागेमा सम्बन्धित बैंक, संस्था वा सरकारी निकायसँग तुरुन्त सम्पर्क गर्नुहोस्। डिजिटल रूपमा सचेत हुनु नै आजको सबैभन्दा ठूलो सुरक्षा हो।
यदि बैंक खाताबाट रकम कटौती भइसकेको छ भने तुरुन्तै बैंकलाई जानकारी दिनुहोस् र विवाद (dispute) दर्ता गर्नुहोस्।
