अष्ट्रेलियामा नेपाली पहिचान, महिला सशक्तिकरण र नयाँ पुस्ताको सामाजिक नेतृत्व योगदानमा– मञ्जु खड्का 

अष्ट्रेलिया – सन् २०१४ मा काठमाडौं, नेपालबाट Skilled Migrant का रूपमा अष्ट्रेलिया आउनुभएकी मञ्जु खड्का आज साउथ अष्ट्रेलियामा नेपाली–अस्ट्रेलियाली समुदायको सशक्त आवाजका रूपमा परिचित हुनुभएको छ। सामुदायिक सेवा, महिला सशक्तिकरण तथा नेपाली भाषा र संस्कृतिको संरक्षणमा उहाँको सक्रिय योगदानले उहाँलाई बहुसांस्कृतिक समाजमा प्रेरणादायी नेतृत्वको उदाहरण बनाएको छ।

हाल उहाँ दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग (South Australian Multicultural Commission) की बोर्ड सदस्य हुनुहुन्छ। यस आयोगले बहुसांस्कृतिक नीति, सामाजिक समावेशीकरण, आप्रवासी अधिकार तथा समुदाय–सरकार सहकार्यसम्बन्धी विषयमा राज्य सरकारलाई महत्वपुर्ण सुझाव प्रदान गर्दै आएको छ।

अष्ट्रेलियामा आगमनसँगै उहाँले निरन्तर स्वयंसेवा गर्दै समुदाय सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनु भएको छ। विभिन्न सामाजिक तथा बहुसांस्कृतिक संघ–संस्थाका साथै गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (NRNA Australia) मा पनि उहाँले राज्य तथा राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नु भएको छ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया महिला फोरम (नारी निकुञ्ज) को राष्ट्रिय संयोजकका रूपमा कार्यरत रहँदा उहाँको नेतृत्वमा महिला नेतृत्व विकास, खेलकुदमा महिला सहभागिता, आप्रवासी परिवारको सशक्तिकरण, महिला स्वास्थ्य सचेतना, विपद व्यवस्थापनमा युवा सहभागिता र सामुदायिक एकता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिएका थिए। उहाँको नेतृत्वमा नारी निकुञ्जअस्ट्रेलियाले नेपालमा पनि विभिन्न परोपकारी कार्यक्रमहरू मार्फत नेपाली ग्रामिण महिलाको सबलीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

भाषा र संस्कृतिको संरक्षणमा पहल

विदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि भाषा र संस्कृतिको संरक्षण चुनौतीपूर्ण विषय हो। यही आवश्यकतालाई महसुस गर्दै उहाँ Adelaide Nepali Vidhyalaya की संस्थापक प्राचार्य बन्नुभयो। विद्यालयको स्थापना तथा यसको संस्थागत विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ। विद्यालयमार्फत दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषा, इतिहास, चाडपर्व, कला, साहित्य र सांस्कृतिक मूल्यबारे नियमित कक्षा सञ्चालन हुँदै आएको छ। हाल पनि उहाँ स्वयंसेवक शिक्षकका रूपमा सक्रिय रहँदै भाषा हस्तान्तरण तथा सिकाईलाई दिगो बनाउने अभियानमा संलग्न हुनुहुन्छ।

बहुसांस्कृतिक नेतृत्व र पेशागत योगदान

दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगमा महत्वपूर्ण भूमिका संगै उहाँ Multicultural Communities Council of South Australia (MCCSA) की बोर्ड सदस्य पनि हुनुहुन्छ। MCCSA को महिला परिषद्की संस्थापक सदस्यमध्ये एकका रूपमा उहाँ बहुसांस्कृतिक पृष्ठभूमिका महिलाहरूलाई एकै ठाउँमा ल्याई साझा लक्ष्य र चुनौतीहरू पहिचान गर्दै सहकार्य र ऐक्यबद्धताका साथ अघि बढ्ने पहलमा सक्रिय रहँदै आउनुभएको छ।

नेपालमा करिब १५ वर्षसम्म विभिन्न शैक्षिक तथा गैरसरकारी संस्थामा काम गरेको अनुभवलाई निरन्तरता दिँदै उहाँ हाल Relationships Australia SA मा केस म्यानेजर तथा काउन्सिलरका रूपमा कार्यरत हुनुहुन्छ। यस भूमिकामा उहाँले मानसिक स्वास्थ्य, HIV तथा जुवाको कुलत जस्ता चुनौतीहरूमा परेका व्यक्तिहरूलाई आवश्यक सेवामा पहुँच र मार्गदर्शन प्रदान गर्दै आउनुभएको छ।

प्रेरणादायी समुदाय निर्माणको यात्रा

मञ्जु खड्काको यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन; यो अष्ट्रेलियामा नेपाली समुदायले निर्माण गरिरहेको पहिचान, अवसर र नेतृत्वको यात्रासँग जोडिएको छ। महिला सशक्तिकरण, भाषा संरक्षण र सामुदायिक सेवामार्फत उहाँले नेपाली–अस्ट्रेलियाली समुदायलाई संगठित, आत्मनिर्भर र भविष्यतर्फ उन्मुख बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *