NPPF र  ONUFअस्ट्रेलियाको संयुक्त प्रारम्भिक भेला – Gen G आन्दोलनका माग यथासक्य सम्बोधन गर्न नेपाल सरकारलाई सुझाव

KNA – Canberra

नेपालमा भएको Gen G आन्दोलनका जायज मागहरूलाई पूर्ण समर्थन जनाउँदै Overseas Nepali United Forum (ONUF) र (जनप्रगतिशील मञ्च अस्ट्रेलिया) Nepal Progressive Professionals Forum (NPPF) को संयुक्त प्रारम्भिक भेला सम्पन्न भएको छ। भेलाले नेपाल सरकारले हालै जारी गरेका विभिन्न कार्यादेशहरूलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै, Gen G आन्दोलनका मागहरूलाई यथासक्य सम्बोधन गरी देशको राजनीतिलाई नयाँ कार्यदिशातर्फ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

नेपालमा विभिन्न राजनीतिक दलहरूबीच देखिएको एकताको पृष्ठभूमिमा विकसित नयाँ राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, अष्ट्रेलियामा आधारित ONUF र NPPF ले संस्थागत रूपमा थप एकताबद्ध भई दीर्घकालीन, व्यवस्थित र परिणाममुखी कार्यदिशामा अघि बढ्ने उद्देश्यसहित यो प्रारम्भिक अन्तरक्रिया आयोजना गरेका हुन्।

कार्यक्रममा जनप्रगतिशील मञ्च अस्ट्रेलिया  का अध्यक्ष श्री दीपक पाण्डे र overseas Nepali United Forum (ONUF)  का अध्यक्ष श्री अच्युत शर्मा थपलियाले प्रमुख सम्बोधन गरेका थिए। कार्यक्रममा NPPF ओसिनिया सचिव श्री हिमलाल गैरे, जनप्रगतिशील मञ्च अस्ट्रेलिया का वर्तमान उपाध्यक्ष श्री बाबुराम गौतम,  संस्थापक पूर्व अध्यक्ष श्री झलक ढुंगाना, पूर्व अध्यक्ष श्री भरत नेपाल, पूर्व अध्यक्ष श्री प्रवीण कँडेललगायत विभिन्न सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तथा संयोजन एनपीपीएफ अस्ट्रेलियाका केन्द्रीय कोषाध्यक्ष श्री सुमन न्यौपाने बाट भएको थियो ।

वक्ताहरूले वर्तमान नेपाली राजनीतिक अवस्थाबाट दीगो निकास स्थिर, समावेशी र उत्तरदायी राजनीतिक प्रणालीबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे। सबै वर्ग, समुदाय र उमेर समूहको प्रतिनिधित्व सुनिश्चित नगरी राष्ट्रिय स्थायित्व सम्भव नहुनेमा उनीहरूको जोड थियो। वर्तमान सन्दर्भमा जनविश्वासमा नयाँ आशा र ऊर्जा देखिएको उल्लेख गर्दै, टुटफुट होइन, एकतामार्फत राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्ने साझा निष्कर्ष निकालिएको थियो।

भेलाका मुख्य निष्कर्ष

१. राष्ट्रिय स्तरको राजनीति (National Standard Politics)

राष्ट्रिय राजनीति व्यक्ति–केन्द्रित नभई प्रणाली, स्थायित्व र भविष्य–केन्द्रित हुनुपर्नेमा सहमति जनाइयो। संविधान र लोकतान्त्रिक मूल्यको सम्मान, पारदर्शी तथा जवाफदेही नीति निर्माण, स्थिर सरकार, दीगो विकास र राष्ट्रिय एकताको संरक्षणलाई यसको मुख्य आधारका रूपमा उल्लेख गरियो।

२. समुदायिक कार्यमा जनसहभागिता

सामुदायिक तथा स्थानीय समस्या स्थानीय तहमै समाधान गर्न जनसहभागिता अनिवार्य रहेको निष्कर्ष निकालियो। सामाजिक ऐक्यबद्धता अभिवृद्धि, नागरिक चेतना विस्तार, स्वयंसेवा, सचेतनामूलक अभियान, युवालाई नेतृत्वमा अवसर र संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

कार्यक्रममा ONUF र NPPF का अध्यक्षहरूले सामाजिक कार्यक्रम तथा समुदाय–स्तरीय सेवा प्रवाहका क्षेत्रमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि छिट्टै नयाँ कार्यदल गठन गरी संस्थाहरूलाई नयाँ यात्रातर्फ अघि बढाइने जानकारी दिइयो।

यसै अवसरमा NPPF र ONUF Australia का तर्फबाट नयाँ वर्ष २०२६ को शुभकामना तथा एकताको सन्देश पनि प्रदान गरिएको थियो। कार्यक्रममा प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरियो।

Gen G आन्दोलनको भूमिका

वक्ताहरूका अनुसार नेपालमा भएको Gen G आन्दोलनले पुरानो सोच, गुटबन्दी र स्वार्थमुखी राजनीतिलाई चुनौती दिँदै सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग अघि सारेको छ। युवाहरू, पेशेवर वर्ग र सचेत नागरिकलाई राजनीतिक प्रक्रियामा सक्रिय बनाउँदै शिक्षा, रोजगारी, मानसिक स्वास्थ्य र सामाजिक न्यायजस्ता जनजीविकाका मुद्दालाई केन्द्रमा राख्नु यस आन्दोलनको प्रमुख विशेषता हो।

वर्तमान राष्ट्रिय तथा विश्व राजनीतिक परिप्रेक्ष्यमा Gen G आन्दोलनले:

  • नयाँ विचार, ऊर्जा र नेतृत्व विकास गर्न सक्ने
  • युवा, पेशेवर र सचेत वर्गलाई राजनीतिक प्रक्रियामा जोड्न सक्ने
  • जनजीविकाका मुद्दामा केन्द्रित भई समाज रूपान्तरणमा योगदान दिन सक्ने
  • टुटफुट होइन, एकता र राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्ने

महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरिएको छ।

यस आन्दोलनले नेपालको राजनीतिप्रति घट्दै गएको जनविश्वास पुनः स्थापित गर्न मद्दत गर्ने विश्वास पनि वक्ताहरूले व्यक्त गरेका छन्।

कार्यक्रमको समापन नारा थियो—
“एकतामा शक्ति छ, र एकताबाटै राष्ट्रिय परिवर्तन सम्भव छ।”

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *