भाषा र संस्कृतिको मशाल बोकेका यात्रु — नारद प्र. आचार्य ‘सुदामा’
KNA- Canberra , Australia
स्वभाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्धनको मलिलो धरातलमा उम्रिएको एउटा विशिष्ट नाम हो— नारद आचार्य ‘सुदामा’। उनी साधारण व्यक्तित्व मात्र होइनन्; देश, काल र परिस्थितिसँग जुध्दै समयको साक्षी बनेका सांस्कृतिक सिपाही हुन्।
बौद्ध धर्मावलम्बीहरूको दोस्रो राजधानी मानिने भूभाग र वैष्णव श्रीसम्प्रदायका धुरीहरूले समाधि लिएको तपोभूमिमा सालनाल रोपिएको सौम्य र सुरम्य गाउँमा एउटा कलिलो बीउ टुसायो। त्यो बीउ आज उदयमान् रविजस्तै ‘सुदामा’का रूपमा चम्किरहेको छ।
इतिहासको आगोमा होमिएको भाषा र मानिसको सम्बन्ध गहकिलो र तेजस्वी हुन्छ। सन् १९५८ मा धिउ–तेल–कपास मुसेर तयार पारिएको जनगणनाको पुल्ठो, सन् १९८८ मा हनुमानको पुच्छरमा बाँधिएर इतिहासको भीरबाट खसालियो। सन् १९९० मा नेपाली भाषा चरु बनेर आगोमा होमिन पुग्यो। बस्ती खरानी बन्यो; आँखाबाट झरेको वर्षाले आगो निभाउन सकेन। त्यही हुन्डरीमा केही तरुण घाम गोधूली साँझसँगै नदीनालासँग आलाप–विलाप गर्दै मौन बने— न बोलियो, न सुनियो, न देखियो। समय छिपिँदै गयो, असुरहरू बलिया हुँदै गए।
त्यही अँध्यारोबाट ‘सुदामा’ शरणार्थी बनेर आफ्नै जन्मभूमिबाट पलायन भए। “बर्मा गए कर्मसँग, नेपाल गए कपालसँग” भनेझैँ, नेपालको तीर्थ मानिने माई नदीको किनारमा पुनः टुसाए ‘सुदामा’। त्यो अटल पहाडको छातीमा भेष उस्तै थियो, बोली उस्तै, मान्छे उस्तै— फरक थियो त केवल मौसम। तर पनि ‘सुदामा’ जिन्दगीसँग हारेनन्। पहाडजस्तै अडिग रहे। कलिलो मस्तिष्कले कलम र कापीलाई सहयात्री बनायो। शान्ति अभियानमा परेवाजस्तै आकांक्षा उडाए। संघर्षको यात्रामा कहिले असुर त कहिले भगवानको आड पाए।
साँझ–बिहान हातमुख जोड्न कठिन थियो, तर मन विचलित भएन। कहिले जलप्रवाह छेउ बसेर सृजनासँग जीवनका उकालो–ओरालो गन्थे, त कहिले भविष्य सम्झेर बिस्तारै मन बुझाउँथे। फाटेको खेत, झरना, हिमाल र पहाडसँग सृजनाको लत लागेको पत्तै पाएनन्— ‘सुदामा’लाई। श्रम र सृजनाको दीर्घ यात्रा उनले तयार गरिसकेका थिए।
नेपालमा (१९९०–२००५) माईधार र गोलधाप शरणार्थी शिविरमा उनले श्रमलाई साधना बनाए। LWF, रेडक्रस, BRAVVE जस्ता संस्थामा शिविर व्यवस्थापन सहयोगीदेखि ‘साहित्य चौतारी’ र ‘बाल सौगात’ भित्तेपत्रिकाको सह–सम्पादन, साथै नेपाली साहित्य प्रचार समिति, सिलिगढीका प्रचार–प्रसार सचिवसम्म— उनको यात्रा श्रम, सेवा र शब्दको संगम बन्यो।
सन् २०१२ मा एटलान्टा, जर्जियामा अर्को सूर्य उदायो। आकाश फरक थियो, तर ‘सुदामा’को मनमा संस्कार, भाषा र धर्म–संस्कृतिका दीपहरू अटल रूपमा उज्यालै थिए।
अमेरिकामा उनले सन् २०१४ मा मातृभाषा संरक्षण समूह स्थापना गर्न काध हाले। एटलान्टा, जर्जियामा विष्णु पाञ्यान मन्दिरको अध्यक्ष बने। साथै त्रिवेणी साहित्य मञ्च, पेन्सिलभेनियामा सञ्चार नेतृत्व सम्हाल्दै मञ्चकै सचिव पदमा रहेर साहित्यको तेज गतिलाई हाँकिरहे।
नेपाल र भूटानका थुप्रै साहित्यिक संस्थामा आजीवन सदस्यता, पत्रकारिता, भाषा, आचारसंहिता, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी तालिम, पुलिस अकादमीबाट दीक्षित भई सामान्य कानुनको ज्ञान— यी सबै उनका बहुआयामिक पहिचानका तहहरू हुन्। हाल उनी अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसबर्ग शहरमा आफ्ना दुई कलिला कोपिलालाई जीवन–रथका पाङ्ग्रा बनाउँदै घाम–जूनसँगै जीविकोपार्जन गरिरहेका छन्। साथै हिन्दू धर्म तथा सांस्कृतिक संगठन, अमेरिकाको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्षका रूपमा सेवा गरिरहेका छन्।
पत्रकारिताको रङ उनका रौँ–रौँमा छ। सन् २०२१ देखि ‘भूटान खबर’सँग आबद्ध भई चुपचाप कर्मरत ‘सुदामा’ आज पनि थकानलाई बास बस्न नदिने वृक्षका हाँगाझैँ स्वाभिमानी छन्। उनका सपना जलेनन्, आकांक्षा समीरले उडाएन। उनी निरन्तर पैताला सार्दै अग्निपथको यात्रा अटुट गरिरहेछन्— भाषा, साहित्य र संस्कृतिको मशाल बोकेर।
भूटान खबरले हालै नारद आचार्य ‘सुदामा’लाई सक्रिय संवाददाताका रूपमा चयन गरेको छ। अमेरिकाको कानुन अन्तर्गत अनलाइन मिडियाका रूपमा सञ्चालित ‘भूटान खबर’ परिवार उहाँलाई हार्दिक बधाई तथा उज्ज्वल सफलताको शुभकामना व्यक्त गर्दछ।
नोट : यस रिपोर्टको आधिकारिक तथ्याङ्कहरू नारद प्र. आचार्य ‘सुदामा’ बाट बाट प्राप्त भएको
