नेपालका १० वटा राजनैतिक कम्युनिस्ट पार्टीहरूको एकीकरण घोषणा- “नेपाली कम्युनिस्ट पार्टी”

काठमाडौँ -नेपाल , बुधबार।

नेपालका १० वटा राजनैतिक कम्युनिस्ट पार्टीहरूको एकीकरण भई “नेपाली कम्युनिस्ट पार्टी” बन्ने घोषणा भएको छ ।

आज नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको नेतृत्वमा  माओवादी केन्द्रसहित १० वटा कम्युनिस्ट पार्टीहरूको एकीकरणबाट बनेको नयाँ “नेपाली कम्युनिस्ट पार्टी” ले औपचारिक रूपमा आफ्नो एकीकृत सम्मेलन प्रारम्भ गरेको छ। सम्मेलनमा शीर्ष नेताहरूले देशभरका कार्यकर्तालाई संगठन सुदृढीकरण र वैचारिक एकतामा जोड दिन आह्वान गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी,  नेपाल कम्युनिस्ट पार्टी (समाजवादी ),जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा ( एकीकृत समाजवादी ),नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी ,नेकपा नेकपा साम्यवादी ,देशभक्त समाजवादी मोर्चा लगायतका पार्टी र मोर्चा मिलेर “नेपाली कम्युनिस्ट पार्टी” एकबद्ध भएको छ।


नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासँगै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई नयाँ संरचनामा तेस्रो वरियता दिने सहमति भएको छ। बुधबार बिहान माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूबीच भएको अन्तिम छलफलपछि सो सहमति बनेको हो।

यसअघि बामदेव गौतमलाई तेस्रो वरियता दिने तयारी गरिएको थियो। तर, खनालले एकताप्रति असन्तुष्टि जनाएपछि बुधबार बिहान भएको छलफलले नयाँ सहमति तयार गरेको हो।

नयाँ पार्टी संरचनामा पुष्पकमल दाहाल पहिलो, माधवकुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो, र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने छन्।

भृकुटीमण्डपमा आयोजित भव्य सभामार्फत वाम घटकहरूबीचको नयाँ एकताको घोषणा गरिएको हो। कार्यक्रमको उद्घाटन शीर्ष नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका थिए। सम्मेलनमा पार्टी विधान, केन्द्रीय कमिटी गठन, र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णयहरू गर्ने एजेन्डा तय गरिएको छ।

नेता खनालले कार्यक्रममा सम्बोधन गर्दै अबको एकता स्थायी र अटुट रहनुपर्ने बताएका छन्। उनले भने, “हामी विगतमा पनि धेरैपटक एक भएका थियौं, तर फुट्यौं। यसपटक नयाँ सोच र दृढ संकल्पसहित अघि बढौं, अब हामी कहिल्यै फुट्ने छैनौं।”

खनालले पार्टीभित्रका असमझदारी र आन्तरिक विवादकै कारण अघिल्ला एकताहरू विफल भएको जिकिर गर्दै सबै वाम घटकहरूबीच पारस्परिक विश्वास र सहकार्य आवश्यक रहेको बताए।

उनले थपे, “हामी वाम एकता चाहन्छौं, फुट होइन। पार्टीभित्र जेजे गलत तत्व पसेका छन्, ती हटाएर नयाँ यात्रातर्फ अघि बढ्नुपर्छ।”

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *