रास्वपाका नेता सन्तोष परियारले पार्टी छाड्दै नयाँ वैकल्पिक मोर्चातर्फ, तीन समूहबीच पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले पार्टी छाड्दै नयाँ वैकल्पिक मोर्चातर्फ, तीन समूहबीच पाँच बुँदे सहमति
काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वसँगको असन्तुष्टि बढ्दै गएको अवस्थामा उनले राजीनामा पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन्। परियारले राजीनामासँगै नयाँ राजनीतिक अभियान सुरु गर्ने तयारीमा रहेको बताएका छन्।
पछिल्लो समय रास्वपाभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै जाँदा परियार त्यसको केन्द्रमा थिए। चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए। कम्युनिस्ट पृष्ठभूमि भएका परियारले जनार्दन शर्मा, घनश्याम भूसाल, नेत्रविक्रम चन्द ‘विप्लव’, मानुषी यमीलगायत नेतासँग वैकल्पिक राजनीतिक सहकार्यबारे संवाद गरिरहेको रास्वपाका स्रोतले जनाएको थियो।
यसैबीच, देशमा बढ्दो आर्थिक–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र दलगत अव्यवस्थाले जनता निराश भइरहेका बेला नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि तीन समूहबीच पाँच बुँदे सहमति भएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र रास्वपासँग आबद्ध समूहका प्रतिनिधिहरूबीच भएको छलफलपछि वैकल्पिक राजनीतिक मोर्चा निर्माणको दिशामा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको हो। सहमतिअनुसार राष्ट्रको स्वाभिमान सुदृढीकरण, जन–आन्दोलनका उपलब्धिको संरक्षण, भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध कडा रचनात्मक मोर्चा बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ।
आगामी चुनावलाई लक्षित गर्दै एकीकृत नयाँ राजनीतिक शक्ति बनाउने, एउटै नाम–परिचयमा प्रतिस्पर्धा गर्ने तथा संयुक्त घोषणापत्र सार्वजनिक गर्ने निर्णय पनि सहमतिमा उल्लेख छ। साथै, देश–विदेशमा रहेका समर्थकहरूलाई संगठित गर्दै अभियान विस्तार गर्ने तयारी ती समूहहरूले गरेका छन्।
सम्झौतामा दुर्गा सॊव (नेपाल समाजवादी पार्टी – नयाँ शक्ति), सुदन किराँती (प्रगतिशील राष्ट्रिय अभियान) र सन्तोष परियार (रास्वपासँग आबद्ध समूह) का हस्ताक्षर छन्।

