साहित्यकार एवं रचनाकार नारदप्रसाद आचार्य ‘सुदामा’ द्वारा लिखित लघुकथा – “अदृश्य”
लघुकथा
शीर्षकः अदृश्य
नारदप्रसाद आचार्य ‘सुदामा’ –
“तिमीलाई दुईटा खबर छ ।” एका बिहानै मलाई फोनले झस्कायो ।
धेरै दिनपछि अमरले मलाई सम्झेका थिए ।
उनी बेला–बेला समीरका खुसी ल्याउँथे । समीर एक आदर्शवादी मित्र थिए ।
उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो ।
अमेरिकी जीवन अति व्यस्त ! साथीभाइसँग भेटघाट गर्ने मसँग फुर्सदै हुन्नथ्यो ।
मैले जिज्ञासा राखेँ- -“कस्तो खबर हो मित्र ?”
हालखबर सोधनी गरेपछि उनले धेरै कुरा सुनाए । मनमा एक तमासको चौचौ बढ्यो ।
अन्त्यमा दुई वटा खबर रोज्न लगाए—सुखद र दुखद । समाचार सुन्ने उत्कण्ठाले एक्कासी मेरो मुखबाट ‘दु:खद’ शब्द निस्कियो ।
अमरले मलिन स्वरमा भन्यो- -“आकाशले सहर छोडेछ ।”
जिज्ञासापूर्वक मैले भनेँ- “ला…! हो र ? के भएछ उसलाई ? अनि अर्को सुखद कुरा चैँ के हो यार ?”
थमथमाउँदै ऊ बोल्यो- -“अस्ति पवित्र स्थलमा अश्लील शब्दले पुष्पवृष्टि गर्ने ‘व्यक्तित्व’ थाहा पाइयो नि !
वास्तविकता पत्ता लगाउँदा नररूपी नरपशु पो रहेछन् ।” म अचम्ममा परेँ ।
त्यो कुरा मेरो कानलाई विश्वास भएन । किनभने विषय मेरो सहृदयी मित्रको थियो ।
अनि उनी आदर्शको पात्र पनि । जानी- जानी मैले सोधेँ- -“को रहेछन् , ती भाग्यमानी महोदय ?”
उताबाट उत्तर आयो- -”हावाले भरिएको बेलुन जस्तो उडन्ते नबनी आदर्शवान बन्दा के जान्थ्यो र !”
— हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
