नेपालको भ्रष्टाचारको पैसा अस्ट्रेलियाको रियलस्टेट सम्म पुगेको आरोप: डा. स्वर्णिम वाग्ले , प्रवासी नेपालीको छवि ?
KNA- Canberra
हालै सार्वजनिक भएको एक भिडियो क्लिपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा नेपालका निवर्तमान संघीय सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा भएको भ्रष्टाचारको पैसा सिंगापुर र दुबई हुँदै अस्ट्रेलियाको घरजग्गा कारोबारमा समेत लगानी भएको दाबी गरेका छन्। भ्रष्टाचारविरुद्ध आवाज उठाउनु आवश्यक र स्वागतयोग्य विषय हो, तर यस्ता गम्भीर आरोपहरू प्रमाण, तथ्य र जिम्मेवार भाषाविना सार्वजनिक हुनु आफैंमा चिन्ताजनक विषय हो।
डा. वाग्लेको भनाइसँग जोडेर अहिलेसम्म कुनै पनि आधिकारिक अनुसन्धान प्रतिवेदन, कानुनी आधार, अन्तर्राष्ट्रिय वित्तीय नियामक निकाय (जस्तै AUSTRAC, FATF, वा सिंगापुर/दुबईका सम्बन्धित निकाय) का तथ्याङ्क सार्वजनिक भएका छैनन्। एक उच्च ओहदा र आफै अर्थ विज्ञ जस्तो व्यक्तित्वले यसरी प्रमाणविहीन सामान्यीकरणले भ्रष्टाचारको जडसम्म पुग्नुको सट्टा, निर्दोष नेपाली समुदायलाई शंकाको घेरामा पार्ने खतरा बढी हुन्छ।
डाक्टर वाग्लेले भने जस्तै यहाँको रियलस्टेट तथ्याङ्क हेर्दा नेपाली समुदाय Residential Land Purpose को सूचीकृतमा नम्बर सातमा रहेको पाइन्छ। तर ठूलो लगानी Commercial land, Agriculture land जस्ता ठूला प्रोजेक्टमा यो तथ्याङ्क मेल खाँदैन। Residential Land मा नेपाली समुदायको उपस्थिति राम्रो देखिनु अस्ट्रेलियामा नेपालीहरूको सङ्ख्या पनि उत्तिकै बढ्दै गएको देखिन्छ।
अस्ट्रेलियामा नेपाली समुदायको घरजग्गा क्षेत्रमा देखिएको उपस्थिति मुख्यतः बसोबास, स्थायित्व र पारिवारिक सुरक्षासँग जोडिएको आप्रवासी यथार्थ हो। नेपाली समुदाय ले आफ्नो पारिवारिक हिसाबले घर स्वामित्वमा देखिनु अवैध पूँजी प्रवाहको प्रमाण त्यति सजिलै मान्न सकिँदैन, बरु परिश्रम, रोजगार र कानुनी बैंकिङ प्रक्रियाबाट अघि बढेको आप्रवासी जीवनको प्रतिबिम्ब हो। यहाँ धेरै नेपाली मूलका रियल एस्टेट एजेन्ट, ब्रोकर र व्यवसायीहरू कानुनको पूर्ण पालना गर्दै सेवा प्रदान गरिरहेका छन्।
यस्तो पृष्ठभूमिमा जिम्मेवार राजनीतिक पदमा रहेका व्यक्तिबाट आएको प्रमाणविहीन अभिव्यक्तिले अस्ट्रेलियामा रहेका लाखौँ इमानदार नेपालीहरूलाई अप्रत्यक्ष रूपमा असर पार्न सक्छ। अन्य समुदाय वा संस्थाहरूले नेपाली समुदायलाई शंकाको दृष्टिले हेर्ने, अनावश्यक scrutiny बढ्ने, र सामुदायिक छविमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ। हो तथ्याङ्क अनुसार भ्रष्टाचार भएको देशमध्ये नेपाल पनि पर्दछ। भ्रष्टाचारविरुद्धको लडाइँ कुनै पनि समुदायलाई दोषारोपण गरेर होइन, दोषी व्यक्ति र प्रणालीलाई लक्षित गरेर अघि बढ्नुपर्छ।
अस्ट्रेलियाको घरजग्गा र वित्तीय प्रणाली विश्वकै कडाइका साथ नियमन हुने प्रणालीमध्ये एक हो। घरजग्गा खरिद–बिक्रीमा बैंक तथा वित्तीय संस्थाहरूले आयको स्रोत, कर विवरण, बैंकिङ कारोबारको इतिहास, तथा विदेशी पूँजी भए त्यसको स्पष्ट स्रोत अनिवार्य रूपमा जाँच गर्दछन्। AUSTRAC अन्तर्गतको Anti-Money Laundering तथा Counter-Terrorism Financing कानुनले गैरकानुनी पूँजीको प्रवेशलाई अत्यन्त कठिन बनाएको छ। यस्तो अवस्थामा “ठूलो मात्रामा अवैध पैसा सजिलै अस्ट्रेलियाको रियलस्टेटमा प्रवेश गर्छ” भन्ने दाबी तथ्यभन्दा अनुमानमा बढी आधारित देखिन्छ।
राजनीतिज्ञका शब्द केवल देशभित्र मात्र सीमित हुँदैनन्; तिनको प्रभाव प्रवासी समुदाय र अन्तर्राष्ट्रिय छविसम्म पुग्छ। त्यसैले भ्रष्टाचार जस्तो गम्भीर विषयमा बोल्दा प्रमाण, सन्दर्भ र भाषिक संयम अत्यन्त आवश्यक हुन्छ। आरोप होइन, अनुसन्धान; अनुमान होइन, तथ्य; र सामान्यीकरण होइन, जिम्मेवारी—यिनै आधारमा सार्वजनिक बहस अघि बढ्नुपर्छ।यदि अवैध धनको सूचना छ भने अस्ट्रेलियामा थुप्रै निकायहरू अनुसन्धानको लागि तयारी अवस्थामा छन् ।
अन्ततः, भ्रष्टाचारविरुद्ध सबै नेपाली एकजुट छन्। तर त्यो लडाइँले विदेशमा बसेर कानुन पालना गर्दै सम्मानजनक जीवन बिताइरहेका नेपाली समुदायको प्रतिष्ठालाई क्षति पुर्याउनु हुँदैन। प्रमाणविहीन आरोपभन्दा प्रमाणसहितको सत्य नै लोकतन्त्र र सुशासनको बलियो आधार हो।
“नयाँ खोज मिडिया” “Naya Khoj Media” Nepal बाट प्रसारित भएको उक्त भिडियो क्लिपमा डाक्टर वाग्लेले यस्तो बताएका छन्।
