अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइने
सनातन समाज अस्ट्रेलिया क्यानबेराले विगत वर्षहरूझैँ यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम १४ अप्रिल २०२६ मा Yarralumla स्थित Lenox Garden मा आयोजना गरिनेछ।
दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यस कार्यक्रम सबैका लागि निःशुल्क खुला रहनेछ। आयोजकका अनुसार कार्यक्रममा हजारौँ दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली कला र संस्कृतिको झल्को दिने विविध सांस्कृतिक नृत्य, लाइभ संगीत तथा बहुसांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछन्। साथै, आगन्तुकहरूले नेपाली परिकारहरूको स्वाद लिन सक्ने विभिन्न खाना स्टलहरूका साथै अन्य व्यापारिक स्टलहरू पनि रहनेछन्।
साँझको मुख्य आकर्षणका रूपमा भव्य फायरवर्क्स (fireworks display) प्रदर्शन गरिनेछ, जसले नयाँ वर्षको स्वागत र नयाँ सुरुवातको प्रतीकका रूपमा रहनेछ।
कार्यक्रम संयोजक निशान्त नेपालले विभिन्न सांस्कृतिक समूह तथा कलाकारहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। आयोजकका अनुसार यस कार्यक्रमले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको पहिचान र योगदानलाई उजागर गर्नुका साथै विभिन्न समुदायबीच सांस्कृतिक आदान–प्रदानलाई अझ सुदृढ बनाउनेछ।
नेपाली नयाँ वर्ष विश्वभर रहेका नेपालीहरूका लागि महत्वपूर्ण पर्व हो, जसले नयाँ सुरुवात, खुशी र सांस्कृतिक एकतालाई प्रतीक गर्दछ।
यससँगै सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा प्रस्तावित पशुपतिनाथ मन्दिरसहित बहुसांस्कृतिक भवन निर्माणको योजनालाई पनि अगाडि बढाइरहेको जनाएको छ। आयोजकका अनुसार यस कार्यक्रमले उक्त परियोजनालाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।
